म्याग्दीमा क्रियाशील सौन्दर्यकला व्यवसायीहरुले शनिवार एक समारोहको आयोजना गरी तिज विशेष कार्यक्रम सम्पन्न गरेका छन् । महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकिँदै जाँदा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीद्वारा तिज कार्यक्रम गरिएको हो ।

सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका सल्लाहकार एवं वरिष्ठ सौन्दर्यकर्मी सरस्वती जिसीको प्रमुख आतिथ्यमा सम्पन्न तिज विशेष कार्यक्रमको अवसरमा पछिल्लोपटक व्युटीपार्लर व्यवसाय सञ्चालन गरेका नयाँ ७ जना उद्यमीहरुलाई संघको साधारण तथा आजीवन सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष गंगा थापा कार्कीको अध्यक्षता र निवर्तमान अध्यक्ष प्रमिला जोशी श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सौन्दर्यकर्मी जिसीलाई संघको तर्फदेखि दोसल्ला ओढाएर मायाको चिनोले सम्मान गरिएको संघले जनाएको छ । तिजको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सौन्दर्यकला व्यवसायी संघले दिदीबहिनी भेटघाट एवं तिजको दरखाने कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

कार्यक्रममा सौन्दर्यकमी महिला दिदीबहिनीहरुले एकापसमा तिज पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै तिजका गीतहरुमा छमछमी नाचेका थिए । तिज विशेष कार्यक्रम संघका सदस्य करिना बर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply