कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारले रमाइलो तिज कार्यक्रम आयोजना गर्ने भएको छ ।

विगत ३ वर्षदेखि हरितालिका तिजको अवसर पारेर रमाइलो तिज कार्यक्रमको गर्दै आइरहेको मोनाले यस पटक म्याग्देली भेला, सम्मान तथा तेस्रो रमाइलो तिज कार्यक्रम –२०२४  आयोजना गर्ने भएको हो ।

आगामी शुक्रबार प्लाजा मलमा रहेको सेन्चुरी रेस्टुरेन्टको सभा हलमा दिउँसो २ बजेबाट हुने कार्यक्रमका लागि साङ्गीतिक प्रस्तुति दिन नेपालबाट लोक तथा दोहोरी गायिका निरुता पुन कतार आउने भएकी छिन् ।

पुनका तिज गीत हेरन मै राम्रो छैन र, पञ्चेबाजा म्याग्दी गलेश्वर लगायतका गीतहरू चर्चामा छन् ।  प्रत्यक्ष दोहोरीमा निकै रुचाइएकी गायिका पुनसँगै कतारमा रहेकी म्याग्देली थाली नृत्यङ्गना यमुना पटेल, नृत्यङ्गना सृजना घताने लगायतका अन्य कलाकारले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । कतारमा रहेका म्याग्देली चेलीबेटीहरूलाई समेटेर कार्यक्रमको आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष राजु पौडेलले बताए ।

यो म्याग्देली भेला हो यस कारण संस्थागत र व्यक्तिगत रूपमा न्यून संस्था तथा व्यक्तिहरूलाई निमन्त्रणा गरिएको बताउँदै अध्यक्ष पौडेलले यसलाई विशुद्ध म्याग्देलीको तिज भनेर बुझ्न सकिने बताए ।

उक्त कार्यक्रमको अवसर पारेर मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषको आजीवन र संरक्षक सदस्यता प्रमाण पत्र आजीवन र संरक्षक सदस्यता खुल्ला रहेको बताउँदै अक्षयकोषमा आबद्ध भइ अक्षयकोषसँगै हातेमालो गरी सामाजिक कार्यमा पाइला बढाउन अनुरोध गरेका छन् ।

कार्यक्रम अक्षयकोष र महिला विभागको आयोजना तथा मोना कतारको सांस्कृतिक विभाग र खेलकुद विभागको सह–आयोजनमा कतारमा कार्यरत म्याग्देली चेलीबेटीहरूको सम्मानार्थ आयोजना गर्न लागिएको मोना कतारले जनाएको छ ।

Leave a Reply