म्याग्दी कलाकार संघ काठमाडौंको स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार सो कलाकार संघ काठमाडौंले हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो ।

संस्थाकी अध्यक्ष गायिका लाली बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं सांसद खमबिर गर्बुजाको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा म्याग्दीका वरिष्ठ गायक खड्ग गर्बुजा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठ, म्याग्दी कलाकार संघ काठमाडौंका संस्थापक अध्यक्ष राजन भुजेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाका अध्यक्ष ध्रुव जिसी, लोकगायक प्रकाश दुतराज, कलाकार रबी कार्की, गायक सुजन बराईलीलगायत थुप्रै कलाकारहरु तथा समाजसेवी व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरुको साथमा म्याग्दी जिल्लामा रहेका मौलिक कला संस्कृति, पुर्ख्यौली नाँच, थाली नाँचलगायत विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत भएका थिए । म्याग्दी कलाकार संघ काठमाडौंले हरेक वर्ष महिलाहरुको महान पर्व हरितालिकाको अवसर पारेर स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम गर्दै आइरहेको संस्थाकी अध्यक्ष गायिका लाली बुढाथोकीले जानकारी दिइन् ।

उनले यस कार्यक्रम सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरी विशेष योगदान दिएको भन्दै आभार प्रकट गरेकी थिइन् । कार्यक्रममा म्याग्दीलाई थाली नाँचमार्फत बिश्वब्यापी विश्वव्यापी रुपमा चिनाउने अग्रज कलाकार एवं थाली नाचको सुरुवातकर्ता हिरामाया पुन मगर, म्याग्दीमा जन्मिएका वरिष्ठ गायक खड्ग गर्बुजालाई विशेष सम्मान गरिएको थियो ।

त्यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाका अध्यक्ष ध्रुब जिसी, केएम कोरियन ल्याङ्ग्वेजका प्रतिनिधि, सेवा नेपालका सञ्चालक राम प्रसाद शर्मालगायत थुप्रै सहयोगीदाता लगायत अन्य व्यक्तिहरुलाई पनि सम्मान गरिएको प्रचारप्रसार विभागका संयोजक प्रकाश बराईली ‘अभिव्यक्ति’ ले बताए । शनिबार सम्पन्न भएको उक्त कार्यक्रम संस्थाका महासचिव रामगगन विश्वकर्मा र महिला सचिव बिमला श्रीष मगरले सञ्चालन गरेका थिए ।

Leave a Reply