म्याग्दीमा लगाइएको धान र कोदो बालीमा रोगको प्रकोप देखिएको छ । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रका धानबालीमा गबारो र पश्चिमी लेकाली क्षेत्रमा कोदोमा खुम्रे किराको प्रकोप देखिएको हो । बालीमा प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।

यस वर्ष खेतमा रोपाइँ गरिसकेपछि मध्य भदौसम्म नियमित वर्षा भएकाले धानबाली राम्रो हुने आशामा किसान थिए । धानले गाँज हाल्ने बेलामा गबारोको समस्या देखापरेको बेनी नगरपालिका–२ का किसान रणबहादुर घिमिरेले बताए । गबारो रोगले धानको गुबो मर्न थालेपछि किसानले विषादी छर्न थालेका छन् । “धान रोप्दा र सिँचाइमा धेरै खर्च भइसकेको छ । अझ विषादी पनि खर्चिलो छ”, उनले भने ।

मङ्गला गाउँपालिका–५ को छिसबाङको फाँट, मङ्गला गाउँपालिका–२ मा पर्ने रणबाङको फाँट र बेनी नगरपालिका–२ बगरफाँटको खेतमा पनि धानमा गबारोको समस्याले धानको गुबो मर्दै गएको किसानले बताएका छन् । धान फस्टाउने समयमा गुबो मर्न थालेपछि किसान चिन्तित बनेका छिसबाङका किसान गोमा थापाले बताए ।

कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पु¥याउने गर्दछ । धानमा पहेँलो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी छ किसिमका गबारो कीराले आक्रमण गर्छन् । धानमा गबारो कीराको समस्या तीव्र रूपमा फैलने भएकाले धान केही दिनभित्रै नष्ट हुने कृषि प्राविधिक जगत बानियाँले बताए ।

“गबारो कीराको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, समयमै उपचार नभए धानबारी नष्ट हुन्छ”, उनले भने । धानखेतमा रासायनिक मल युरिया प्रयोग धेरै, पानीको कमी र सूक्ष्म तत्वको कमीले गबारो कीराको सङ्क्रमण सहजै फैलने कृषि प्राविधिक बताउँछन् ।

त्यसैगरी कोदोबालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रेकीराका कारण कोदोको डाँठ धमाधम सुक्न थालेपछि पश्चिम म्याग्दीका रुम, ओखरबोट र देविस्थानका किसान चिन्तित बनेका छन् । कोदोको जरामा खुम्रे कीरा र डाँठमा गबारो देखिएको छभने यहाँको धानखेतीमा ढुसीजन्य रोग देखिएको छ ।

हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको मालिका गाउँपालिका–२ का किसान जगबहादुर विकले बताए । बालीमा रोग र किराको प्रकोप बढ्न थालेपछि किसानले प्राविधिकको सल्लाहमा विषादीको प्रयोग गर्न थालेका छन् । विषादी छर्कंदा रोग अन्य स्थानमा फैलन नदिन सहयोग पुग्ने उनीहरुको विश्वास छ ।

हालसम्म ५० रोपनी जग्गामा लगाइएको कोदोबाली खुम्रे कीराको समस्याले सखाप भइसकेको छ । खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे कीरा फैलिएको प्राविधिकको भनाइ छ । आगामी दिनमा मकै लगाउने याममा माटोमा विषादीको प्रयोग गरेर खुम्रे कीरालाई नियन्त्रण गर्ने गरी किसानलाई सचेत गराइने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ । यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायत उन्नत जातका धानखेती हुने गर्छ । लेकाली क्षेत्रका किसानले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती गर्दै आएका छन् । कोदो भने स्थानीय जातको खेती हुँदै आएको छ । रासस

Leave a Reply