पश्चिम म्याग्दीलाई जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने फापरखेत पहिरो क्षेत्रमा वैकल्पिक सडक र बेलिब्रिज बनाउनको लागि स्थलगत अनुगमन भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोको विकल्पमा वैकल्पिक बेलिब्रिज र सडक निर्माणको लागि आज (मङ्गलवार) अनुगमन गरिएको हो ।
जिल्लाको मंगला गाउँपालिका–३, पखेर र वडानम्बर २ स्थित सिमलचौर पुछार जोड्ने म्याग्दी नदिमाथि बेलिब्रिज तथा सडक निर्माणका लागि प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्री, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सडक डिभिजन बागलुङका प्राविधिक र स्थानीयवासीले प्रस्तावित स्थानको प्रारम्भिक अध्ययन गरेका छन् ।
बेलिब्रिज निर्माणको लागि प्रस्तावित ठाउँका जग्गाधनीसँग सहमति जुटाउन गाउँपालिका र वडाका जनप्रतिनिधि, स्थानीय अगुवालाई आफूले सुझाव दिएको सांसद गर्बुजाले बताउनुभयो ।
सहमतिलगत्तै बेलिब्रिज र सडक निर्माणको पक्रिया अगाडि उहाँले जानकारी दिनुभयो । ‘पहिरोमा वैकल्पिक सडक र म्याग्दी नदीमाथि बेलिब्रिज निर्माण गर्न प्रारम्भिक अध्ययन भएको छ । जग्गाधनीसँग सहमति भएपश्चात् विस्तृत अध्ययन गरेर सडक र पुल निर्माणको प्रक्रिया अघि बढ्छ’ उहाँले भन्नुभयो । बेलिब्रिज बनाउने संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय तथा मातहत महाशाखा र विभागसँग छलफल र समन्वय भैरहेको सांसद गर्बुजाले बताउनुभयो । उहाँले गएको साउनमा पनि गृहमन्त्री रमेश लेखकलाई भेटेर वैकल्पिक सडक र बेलिब्रिज निर्माणको आग्रह गर्नुभएको थियो ।
करिब १९ वर्षअघि सडकको मार्ग खोल्नु अघिदेखिकै पहिरो नरोकिँदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरबाङ सडकमा वर्षायाममा सीधा यातायात सेवा प्रभावित हुने गरेको छ । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवतजावत बन्द हुने र ढुङ्गा, माटोसहितको पहिरो खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको छ । सडक माथिबाट खस्ने पहिरोले यात्रा जोखिमपूर्ण बनिरहेको छ ।
फापरखेतको पहिरोमा करोडौं लगानी भए पनि सफल नभएपछि सिमलचौर पुछार र पखेर जोड्ने म्याग्दी नदिमाथि बेलिब्रिज बनाएर सडक सञ्चालन गर्न प्रस्ताव गरिएको मंगला–२, बाबियाचौरका वडाध्यक्ष धनबहादुर खाती क्षत्रीले बताउनुभयो । वैकल्पिक सडक र बेलिब्रिज निर्माणको लागि पखेरका जग्गाधनीसँग छलफल गरेर सहमति जुटाउन गाउँपालिका र वडाले पहल थाल्ने गाउँपालिका उपाध्यक्ष क्षत्रीले बताउनुभयो । ‘फापरखेत पहिरोले सबैलाई सास्ती भएको छ, यसको विकल्पमा वैकल्पिक सडक र पुल बनाउन जग्गाधनीसँग सहमति जुटाउनको लागि गाउँपालिका र वडाले आवश्यक समन्वय तथा छलफल गर्छौं’ उहाँेले भन्नुभयो ।
तातोपानीको फापरखेत र बरंजाको पखेर जोड्ने पक्की मोटरेबल पुलभन्दा करिब दुईसय मिटरमाथि सिमलचौर जोड्नका लागि अर्को बेलिब्रिज बनाउन लागिएको हो । सडक डिभिजन बागलुङका सव–इन्जिनियर सुरेश भण्डारीले सम्बन्धित जग्गाधनीसँग सहमति जुटेपछि विस्तृत अध्ययनको काम अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मोटरेवल पुलभन्दा करिब दुईसय मिटरमाथि पखेर र सिमलचौर जाड्ने करिब ५५ मिटर लामो बेलिब्रिज र डेढसय मिटर पहुँचमार्ग बनाउन सकिने प्रारम्भिक अध्ययन गर्दा निष्कर्ष निकालेका छौं ।’ स्थलगत अनुगमनमा नेपाली कांग्रेस म्याग्दीका नेता नेत्रबहादुर महत, उपसभापतिद्वय हरिकुमार श्रेष्ठ र केबि भण्डारीलगायत पार्टीका पदाधिकारी, कांग्रेस, नेकपा एमाले र माओवादीका स्थानीय प्रतिनिधिहरु, मंगला गाउापालिकाका प्राविधिकहरु, कर्मचारी र स्थानीयवासीको उपस्थिति रहेको थियो ।