महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकिँदै जाँदा तिजसम्बन्धी विशेष कार्यक्रमहरुले प्राथमिकता पाउँदै गएका छन् । यसैक्रममा हिजो (मङ्गलवार) म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको आयोजनामा खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न भएको छ ।

समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान ः समान सहभागिताका लागि सुदृढ सङ्गठन भन्ने नारासहित अनेमसंघले तिज पर्वको अवसरमा महिला सशक्तिकरणमा आर्थिक पक्षको भूमिका विषयक खुल्ला तिजगीत प्रतियोगिता–२०८१ आयोजना गरेको थियो । गीत, सङ्गीतको माध्यमबाट महिलाहरुको सशक्तिकरण गर्न आर्थिक पक्षको भूमिका प्रष्ट्याउने उद्देश्यसहित तिजगीत प्रतियोगिता आयोजना गरिएको अनेमसंघले जनाएको छ ।

कुल ३१ टिमले सहभागिता जनाएकोमा मंगला गाउँपालिका–१, कुहुँकी हिरा किसान प्रथम, क्षत्री समाज म्याग्दी द्वितीय, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दी तृतीय, गणेशथान आमा समूह जलजला–७, मिलनचोक पर्वत र जामुनाखर्क मावि अर्थुङ्गेकी गरिमा परियार सान्त्वना भएका थिए । विजयी टिमहरुलाई नगद क्रमशः दशहजार, सातहजार, पाँचहजार र तीनतीन हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको अनेमसंघ म्याग्दीका सचिव देवकुमारी पुनले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजयीहरुलाई अनेमसंघका केन्द्रीय सदस्य एवं नेकपा एमालेको जिल्ला सचिव थमसरा पुन, अनेमसंघ गण्डकी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री र अनेमसंघका कार्यवाहक अध्यक्ष हेमकुमारी गर्बुजाले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा म्याग्दीका अग्रज कलाकार कृष्णदत्त पौडेल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका जिल्ला अध्यक्ष धुर्व जिसी र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कलाकारहरु अमित विश्वकर्मा, दिनेश पुन र विजय परियारले हार्मोनियम, मादल र बाँसुरी बजाउनुभएको थियो ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै अनेमसंघका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुनले अनेमसंघ म्याग्दीले आयोजना गरेको खुल्ला तिजगीत प्रतियोगिताले तिज पर्वको सन्देश फैलाउने बताउनुभयो । उहाँले पछिल्लो समय नेपाली समाजमा मनाइने तिजलगायत चाडपर्वहरु एकदमै भड्किलो तथा खर्चिलो बन्दै गैरहेको अवस्थामा यस्ता सन्देशमूलक कार्यक्रमहरुले अनावश्यक खर्च कम हुने कार्यलाई समेत रोक्न सहयोगी भूमिका खेल्ने बताउनुभयो । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले नेपाली समुदायमा तिज पर्वको महत्वलाई गीत, सङ्गीतको माध्यमबाट उजागर गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

एमाले जिल्ला सचिव तथा अनेमसंघ केन्द्रीय सदस्य थमसरा पुनले आर्थिक सशक्तिकरणको विषयवस्तुलाई जोडेर महिलाहरुको कला र गला प्रस्फुटन गराउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । कार्यक्रम अनेमसंघ म्याग्दीका कार्यवाहक अध्यक्ष हेमकुमारी गर्बुजाको अध्यक्षता, उपाध्यक्ष पशुपति शाहीको स्वागत र सचिव देवकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा सहभागी महिलाहरुले आर्थिक सशक्तिकरण, तिजको महत्व, महिलाको भूमिकालगायत विषयवस्तुहरु गीतमार्फत उठाएका थिए ।

Leave a Reply