निकै तामझामका साथ मंगलबार उद्घाटन गरिएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै बन्द भएको छ । बाटोको दुरावस्था र सवारी साधनको सुरक्षा चुनौति देखाउँदै व्यवसायीले सवारी साधन बसपार्कमा लैजान नमानेपछि बसपार्क सुनसान बनेको छ ।

बागलुङ नगरपालिका वडा न. ४मा २३ वर्षपछि सञ्चालनमा ल्याइएको बसपार्क मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।

निकै तामझामका साथ उद्घाटन गरिएको बसपार्क एकदिनपनि सञ्चालनमा आउन नसक्नुलाई नगरको असफलताको रुपमा लिएको स्थानीय व्यवसायी बाबुकाजी केसीले बताए ।

‘यो खासगरि नगरप्रमुख र सिङ्गो नगरपालिकाको असफलता हो भन्ने लाग्छ ।’ उनले भने–‘एकदिनमै बन्द हुने बसपार्क तामझामका साथ उद्घाटन गर्नु हुन्नथ्यो ।’

उनले नगरपालिकाले आफ्नो अधिकार प्रयोग गर्न नसक्दा यस्तो अवस्था आएको बताए ।

‘नगरपालिकाले चाहेको खण्डमा व्यवसायीलाई जहाँ राख्न चाह्यो त्यहिँ पठाउन सक्छ’ उनले भने–‘तर पालिकाले आफ्नो अधिकार प्रयोग गर्न सकेन ।’ उनले हरेक काम गर्दा दीर्घकालीन रुपमा सोच्नुपर्ने बताए ।

व्यवसायी विष्णुराज पन्तले असुरक्षाको कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए ।

‘त्यहाँ सुनसान छ, कसैले ढुङ्गाले हानेर सवारी फोडीदिए के गर्नु ?’ प्रश्न गर्दै उनले भने–‘लाखौँ रुपैयाँ लगानी गरेका व्यवसायीको सवारी सुरक्षित हुनुपर्छ, असुरक्षित ठाउँमा व्यवसयी जाँदैनन् ।’

बसपार्कसम्म पुग्नकोलागि बाटो साँघुरो हुँदा ठूला बस लैजान व्यवसायीले आनाकानी गरेका छन् ।

यस विषयमा बागलुङ नगरपालिका प्रमुख वसन्त कुमार श्रेष्ठले यातायात व्यवसायीसँग बसेर बसपार्क सञ्चालनको विषयमा छलफल गरिने बताए ।

‘हामीले सटरहरु भाडाकोलागि दुइपटकसम्म टेण्डर आह्वानपनि गर्यौँ, तर कसैले टेण्डर हाल्नु भएन ।’ उनले भने–‘अब बस व्यवसायीहरुसँग बसेर छलफल गर्छौँ र दीर्घकालीन रुपमा सञ्चालन गर्छौँ ।’

उनले बसपार्कलाई दीगो बनाउनकोलागि यातायात व्यवसायीहरुसँग लिखित रुपमा सम्झौता गरेर अघि बढ्ने बताए ।

निर्माण प्रक्रिया सुरु गरेको करिब २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो । बसपार्क निर्माणकोलागि नगर विकास कोषबाट ८ करोड ७० लाख रुपैयाँ ऋण लिइएको थियो ।

बसपार्कमा ६० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ ।

बसपार्क निर्माण सम्पन्न भएको झण्डै २ बर्षमा उद्घाटन हुँदा खुसी बनेका नागरिक एक दिनमै बसपार्क बन्द भएपछि पुनः निराश बन्न पुगेका छन् । ईपरी न्यूज

Leave a Reply