चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छिन् ।

प्रवेश परीक्षामा करिब १४ हजार प्रतिष्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा आफुलाई उभ्याएकी हुन् । ढकालले सर्वाधिक १६४ अंक ल्याएकी छिन् ।

हालै प्रकाशित प्रवेश परीक्षाको नतिजामा सर्वाधिक अंक ल्याएर नेपालमै उत्कृष्ट भएको भन्दै प्रतिभा माविले बुधबार ढकाललाई विद्यालयमै सम्मान पनि गरेको छ । प्रतिभा माविका प्राचार्य किरण सापकोटाका अनुसार ढकाल पहिलेदेखि नै पढाईमा अब्बल थिईन् । त्यसकै परिणामस्वरुप यो वर्ष नेपाल टप गर्न सफल भएको सापकोटाले बताए ।

‘प्रतिभाको उत्कृष्टतामा आयुषाको परिणामले अर्काे इटा थपिएको छ । गुणस्तीय शिक्षा र सबैको मेहनतले यो सफलता हात परेको हो,’ उनले भने, ‘प्रतिभाले यसअघि पनि यस्तै प्रतिभावान विद्यार्थी उत्पादन गरेको थियो । आगामी दिनमा थप प्रतिभावान विद्यार्थी उत्पादनमा हामीले जोड दिएका छौ ।’

ढकालले अब सरकारी पूर्ण छात्रवृत्तिमा चारवर्षे बिएसस्सी नर्सिङ अध्ययन गर्न पाउनेछिन् । ‘आयुषाको रिजल्ट उत्कृष्ट हुनेमा हामी पहिल्यै नै आशावादी थियौँ । यो पटक त्यो प्रमाणित भएको छ,’ उनले भने ।

आमा मिनादेवी ढकालले सानैदेखि मेहनती भएकै कारणले आयुषाले यो पटक नेपालमै आफुलाई अब्बल सावित गर्न सफल भएको बताईन् । ‘यसअघिका अरु परीक्षामा पनि आयुषा अब्बल नै थिईन । तर, यो पटक नेपालमै सर्वाेत्कृष्ट सावित गर्न सफल भएकी छिन,’ उनले भनिन्, ‘हामी अभिभावकको पनि पहिचान फराकिलो बनाएको छ ।’

पुर्ख्यौली घर स्याङजा भएको ढकाल परिवार हाल पोखराको बिरौटामा बस्दै आएको छ । तीन सन्तानमध्येकी जेठी छोरी आयुषाको रिजल्टले अरुलाई पनि अध्ययनमा बल पुगेको उनले बताईन् ।

उत्कृष्ट ठहरिएकी आयुषाले अब स्वदेशमै स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने आफ्नो चाहना पुरा भएको बताईन् । ‘सरकारी छात्रवृत्तिमा स्वदेशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने अवसर जुटेको छ । मेहनत गरेर अध्ययन गरेमा सफलता मिल्ने रहेछ भन्ने प्रमाणित भएको छ,’ उनले भनिन् ।

विद्यालयले उत्कृष्ट भएकी आयुषालाई बुधबार अरु विद्यार्थीमाझ पनि परिचित गराएको थियो । आयुषाको अध्ययन र मेहनत अरु विद्यार्थीका लागि पनि प्रेरणा बन्ने भएकोले विद्यार्थीमाझ परिचित गराएको प्राचार्य सापकोटाले बताए । सरकारले यो वर्ष १७ सय २० जनाका लागि बिएसस्सी नर्सिङतर्फ कोटा छुट्याएको छ । तीमध्ये ५ सय ३५ जना छात्रवृत्तिको कोटा अध्ययन गर्न पाउँछन् ।

Leave a Reply