संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रूपमा बसिरहेका कामदारसहित विदेशी नागरिकहरूलाई स्वदेश फर्कन वा वैधानिक भई बस्न दुई महिनाको समय दिएको छ । सेप्टेम्बर १ तारिखदेखि अक्टोबर ३० तारिखसम्म लागू हुने गरी युएई सरकारले एम्नेष्टी आदेश जारी गरेको हो ।

विगतमा वर्किङ वा भिजिट भिसामा युएई गएर रन वे (भागेका) वा ओभर स्टे भई जरिवाना वा अध्यागमन समस्या रहेकाहरूलाई एमनेस्टीको सेवा लिन आग्रह गरेको छ ।

अबुधावीस्थित नेपाली राजदूतावासले त्यस्ता नेपालीहरूलाई नेपाल फर्किन वा वैध भई यूएईमै बस्न तोकिएको प्रक्रिया पुरा गर्न भनेको छ । तोकिएको प्रक्रिया पुरा गरेर वैधानिक रूपमा युएईमा नै रहन वा नेपाल गई पुनः युएई आउन सक्ने कानुनी आधार निर्माण गर्न दूतावासले अनुरोध गरेको हो ।

दूतावासले एम्नेष्टी कार्यक्रममा गैरआवासीय नेपाली संघ, युएईमा रहेका नेपालीका सामाजिक सङ्घसंस्था तथा सञ्चारकर्मीलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।

विगतमा पनि युएई सरकारले अवैधानिक विदेशी लक्षित गरेर एम्नेष्टीका कार्यक्रम सञ्चालन गर्दै आएको थियो । युएई अध्यागमनबाट प्रक्रिया पूरा गर्नेले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र पाउने छन् । तर, हवाई टिकट भने आफैँले व्यवस्था गर्नुपर्नेछ । एकतर्फी यात्रा अनुमति पत्र पाएकाले १४ दिनभित्र युएई छोड्नुपर्ने दूतावासले जनाएको छ । ratopati

Leave a Reply