Oplus_131072

बिहीबार साँझदेखि लगातार परेको वर्षाको कारण म्याग्दी सदरमुकाम बेनी जोड्ने सबै प्रमुख सडकमा पहिरोले यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन रायमाझीले दिएको विवरणअनुसार काठमाडौं, पोखरा हुँदै म्याग्दी प्रवेश गर्ने मालढुंगा–बेनी सडकको पर्वत जलजला, ५ केराबारीमा आएको पहिरोले, बागलुङ–बेनी सडकको बेनी नगरपालिका-१ सीममा झरेको पहिरोले यातायात अवरुद्ध भएको छ ।

पहिरोको कारण राजधानीसमेत ठूला सहरबाट म्याग्दी र मुस्ताङका लागि छुटेका रात्रिबसहरु बेनी प्रवेश गर्न पाएका छैनन् । बेनीबाट काठमाडौं, प्रदेश मुकाम पोखरासमेत ठूला सहरका लागि छुट्ने सावरी साधन बसपार्कबाट छुटेका छैनन् । गन्तव्य हिँडेका यात्रु अलपत्र छन् ।

 

त्यसैगरी सदरमुकाम बेनीबाट मुस्ताङ जाने कालीगण्डकी करिडोर बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने रघुगंगा गाउँपालिका-२ कुनौटोमा, अन्नपूर्ण गाउँपालिका, ६ महभीरमा, अन्नपूर्ण-२ तातोपानीभीरमा र अन्नपूर्ण-३ दानाको सुकेबगर र गुइँठेभीरमा पहिरो झरेकोले यातायात पूर्ण अवरुद्ध छ ।

त्यस्तै, बेनीबाट पश्चिमतर्फ जाने बेनी–दरवाङ सडकतर्फ बेनी ४ घुमाउने भीर, मंगला गाउँपालिका-२ मा पर्ने सीम र लाम्पाटा तथा मालिका गाउँपालिका-६ मा पर्ने बाङ्गेभीरमा पहिरोले यातायात अवरुद्ध बनाएको हो।

प्रहरीले वर्षा नरोकिएकोले तत्काल सडक खुल्ने अवस्था छैन । वर्षा रोकिएपछि यातायात सञ्चालनमा ल्याउन प्रयास थाल्ने गरी सरोकारवाला निकायसँग समन्वय भइरहेको सूचना अधिकारी रायमाझीले जानकारी दिए ।

 

Leave a Reply