अविरल वर्षाका कारण म्याग्दीको मंगला गाउँपालिका–३,पखेरमा माथिबाट खसेको पहिरोले दुई घर पुरिएको छ । पहिरोले स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएका छन् भने वैकल्पिक बाटो पनि अवरुद्ध भएको पखेरबाट स्थानीयवासी नरबहादुर थापामगरले जानकारी दिए।

पहिरोले दुई घरमा क्षति गरे पनि बिहीबार लक्ष्मी र उनका छोरा अरुको घरमा पाहुना गएकाले कुनै मानवीय क्षति हुन नपाएको थापामगरले जानकारी दिए। अहिले तातोपानी चौकीबाट पुगेको प्रहरीको टोली र स्थानीयवासीले पहिरो पन्छाएर घरका सामान सुरक्षित ठाउँमा सार्ने काम भइरहेको उनले जानकारी दिए। पहिरोस्थलमा गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी क्षत्री सहितको टोली पुगेको छ । पहिरोबाट भएको क्षतीको विवरण संकलन भइरहेको छ ।

पानी पर्नेक्रम नरोकिएकाले अझै पनि पहिरो झरिरहेको उनले बताए।सडक अवरुद्ध भएपछि यात्रुहरु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थी र पश्चिम म्याग्दीका विभिन्न ठाउँमा जाने यात्रुलाई समस्या हुने गरेको छ।अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

यसैबीच वर्षाका कारण पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागुलङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ। मंगला गाउँपालिका–२ र बेनी नगरपालिका–४ को सीमानामा पर्ने फापरखेतको घुमाउने भिरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ भने अन्य ठाउँमा पनि निकै जोखिम छ ।

Leave a Reply