म्याग्दीको बेनी नगरपालिका–९,तोरीपानीकी १९ वर्षीया गर्भवती मीना परियारको हत्याका मुख्य आरोपी सहित पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश प्रकाश पण्डितको इजलासले थुनछेक बहसपछि मृतक परियारका प्रेमी २५ वर्षीय राम खत्री, मुख्य अभियुक्तकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री, सालो नाता पर्ने २३ वर्षीय रोजन खत्री र २३ वर्षीय श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

बहस पछि मुख्य आरोपी र अन्य अभियुक्तहरूलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएकाले पुर्पक्षमा राख्ने आदेश भएको जिल्ला अदालत म्याग्दीका शाखा अधिकृत डिल्लिराज पौडेलले बताए । ‘सबै आरोपीलाई तत्काल प्राप्त प्रमाणका आधारमा कारागार चलान गरिएको छ’ अधिकृत पौडेलले भने ।

गत बर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारलाई उनका प्रेमी २५ वर्षीय राम खत्रीले घरमै पुगेर कुराकानी गर्नु छ भनेर करिब १ सय मिटर तल रहेको चौतारीमा लगेर प्रेम सम्बन्धपछि रहेको गर्भ पतन गराउने पटक–पटक गरेको प्रस्तावलाई मीनाले अस्वीकार गरेपछि धारिलो हतियारले प्रहार गरी हत्या गरेको अभियुक्त खत्रीले स्वीकार गरेका थिए ।

अभियुक्तको गर्भपतनको अडान र मीनाले सामुहिक आत्महत्या गर्ने अडानबाट टसमस नभएपछि हत्या गरी झाडीमा लुकाई डोको नाम्लो लिएर कालीमूलको जङ्गलमा खाल्टो खनी पुरेको अवस्थामा भेटिएको थियो । अभियुक्त खत्रीको घरमा पुस १५ गते छलफल भएको देखिन्छ ।

अहिलेसम्म फेला परेका प्रमाणहरूसहित प्रहरीको सबै कागजपत्रले मुख्य अभियुक्त खत्रीलाई मीनाको हत्यामा सघाएको दावी सहित अनुसन्धान प्रतिवेदनसँगै थप चारजनालाई जिल्ला अदालत म्याग्दीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । यसैबीच संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले प्रारम्भीक न्याय मिलेको जनाएको छ ।

समितिका अगुवा प्रेम नेपालीले पुर्पक्षका लागि कारागार चलानपछि आन्दोलनका स्वरुप परिवर्तन गर्ने र मृतक परियारको अन्त्येष्टी सहितका कार्यरूका बारेमा परिवारको सहमतिमा अगाडी बढ्ने जनाएको छ ।

डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको रिर्पोट बाहेक अन्य सबैमा हत्या नै भएको देखिएको थियो । मुख्य अभियुक्त खत्रीलाई कर्तव्य ज्यान मुद्दामा हदैसम्म अर्थात सर्वस्व सहित जन्म कैद सजाय तथा अन्य अभियुक्तलाई समेृत ज्यान सम्बन्धि कसुर अन्तरगत ज्यान मार्ने वा मार्न सघाएको अभियोगमा हदैसम्म अर्थात आजीवन कारावास सजाय माग गरिएको छ।

अनुत्तरित प्रश्न
अभियुक्त खत्रीले मीनाको हत्यापछि सोही दिन राती राती नै खाल्टो खनेर पुरेको बताएका छन् । मीनाको हत्याको योजना सहित घरमै पुगेर चौतारीसम्म पु¥याएका खत्रीको साथमा छिमेकी वाखेत मेलाबाट फर्किने बेलामा फेला पारेको दावी गरिएको धारिलो चक्कु समेत थियो ।

उनले चौतारीमा हत्या गर्दा ’रगतको टाटा’ देखिनुपर्ने, झाडीमा लुकाउन एक्लै कसरी सम्भव छ ?मध्यरातमा एक्लै हत्या गरेर डोकोमा लैजाँदा भुइँमा रगतको टाटादेखिनुपर्ने, बाटोबाटै बोकेर कालीमूलको जङ्गलमा लगेर सोही राती खाल्टो खन्न सम्भव छ ? अभियुक्त खत्रीले हत्या अगाडी नै खाल्टो खनेको वा शब ब्यवस्थापन गर्दा उनी एक्लै थिए वा कसैको सहायता लिएको बारेमा प्रहरीले खुलाएको छैन ।

मीनाको शब बोकेर कालीमूलसम्म लैजान कति समय लाग्यो ? हत्यापछि घरमा पुगेर डोको, नाम्लो लिएर आउन सम्भव छ?,शब गाड्दा प्रयोग भएको औजारहरू कति थिए ? औजारको संख्याले पनि थप तथ्य सार्वजनिक गर्न सकिने आधारहरू भएपनि अभियुक्तले भीरबाट फालिदिएको बयान दिएका छन् । मीनाको मोबाइल कता छ ? मीनाको मोवाइलको अन्तिम लोकेशन उत्तरी म्याग्दीको दोबा आसपासमा देखियो, के अभियुक्त राती नै उक्त क्षेत्रमा पुगे ?

अनुसन्धानमा चुकेको प्रहरी
मीना बेपत्ता भएपछि मुख्य अभियुक्त खत्रीको संलग्ताका बारेमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका थिए । पीडित परिवारसँगै बेनीअनलाइनमा मीना बेपत्ताको पहिलो समाचार प्रकाशित भएको थियो । मीनासँग गर्भ बसेको, भागेर भारत जाने लगायत विभिन्न कुराकानी गरेको म्यासेन्जर च्याट सहितको प्रमाण फेला पर्दा समेत प्रहरीले अनुसन्धानमा गम्भीरता नदेखाएकोर लापरवाही गरेको उजुरीकर्ताले गुनासो छ।मुख्य अभियुक्त खत्रीलाई केरकारसँगै घटनाकोअनुसन्धानमा प्रहरीको तालिमप्राप्त कुकुर सहित विज्ञ टोली खटाउनेतर्फ ध्यान गएको देखिदैन ।

पीडित परिवारले संघीय गृहमन्त्री सहित केन्द्रीय केन्द्रिय अनुसन्धान ब्युरो अन्वेषण ब्यूरो (सीआईबी) सहित संघीय संसदको समितिमा समेत पुगेर याचना गरेका थिए । बेपत्ता भएको केहीदिनमै कुकुर सहित विज्ञ टोलीलाई झिकाउन सकेको अवस्थामा मीनाको शब पहिचान सहित थप प्रमाणहरू जुटाउन सजिलो हुने थियो । मीना बेपत्तापछि अनुसन्धानमा कुनै त्रुटि नभएको दावी गरेपनि प्रारम्भीक चरणमा खोजीकार्य र अनुसन्धानमा प्रहरी चुकेजस्तो देखिन्छ ।

Leave a Reply