शव भेटिएको करिब एक महिनापछि म्याग्दीको बेनी नगरपालिका–९,तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ।

 

गत वर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारको हत्याका मुख्य आरोपीसहित पाँचै जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएपछि अन्त्येष्टि गरिएको हो । मृतक मीनाको हत्यामा सामुहिक संलग्नता भएको भन्दै पीडित परिवारले दाहसंस्कार नगरी बेनी अस्पतालको शवगृहमा राखेका थिए ।

दाहसंस्कारमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । मृतक परियारको श्रद्धाञ्जली सभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सहित दलित अधिकारकर्मीको उपस्थिती रहेको थियो । मीनाको शव (कंकाल) साउन २७ गते म्याग्दी बेनी नगरपालिका वडा नम्बर ९ आँखेत कालीमुलको जंगलमा गाडिएको अवस्थामा फेला परेका थियो।

मृतक परियारको हत्यामा संलग्न मुख्य आरोपी २५ वर्षीय राम खत्री, रामकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री, सालो नाता पर्ने २३ वर्षीय रोजन खत्री र २३ वर्षीय श्याम खत्रीलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएकाले पुर्पक्षमा राख्ने आदेश भएको थियो ।

शव अन्तेष्टी गरी आन्दोलनको स्वरुपसमेत परिवर्तन गरिने संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक पदम किसानले बताए । ‘प्रारम्भिक न्याय पाएका छौ, संघर्षका कार्यक्रमहरु फेरिएको छ । अब मीना परियारको जस्तो घटना हुन नदिने गरी सक्रिय हुन्छौ’ संयोजक किसानले भने ।

उनले दलित यूवतीहरुलाई यौन सन्तुष्टीको साधन बनाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने बताए । जातीय विभेदलाई दण्डित गर्ने कानुन बनेपनि कार्यान्वयन र समाजमा दलितहरूलाई हेर्ने दृष्टिकोण कमजोर रहेको बताए । प्रेम सम्बन्धपछिको गर्भलाई पतन गराउन अभियुक्त खत्रीले दिएको दबाबलाई अस्वीकार गर्दा प्रहार गरेको हतियार सहित शब भेटिएको थियो ।

मृतक परियारको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको रिर्पोट बाहेक अन्य सबैमा हत्या नै भएको देखिएको थियो । मुख्य अभियुक्त खत्रीलाई कर्तव्य ज्यान मुद्दामा हदैसम्म अर्थात् सर्वस्व सहित जन्म कैद सजाय तथा अन्य अभियुक्तलाई समेृत ज्यान सम्बन्धि कसुर अन्तरगत ज्यान मार्ने वा मार्न सघाएको अभियोगमा हदैसम्म अर्थात आजीवन कारावास सजाय माग गरिएको छ। मीना बेपत्ता भएपछि निरन्तर परिवार र दलित संघसंस्थाले चरणबद्ध आन्दोलन गरेका थिए ।​

 

Leave a Reply