सुरुङ्गा : यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित एउटा घरमा लगाइएको पूजाको प्रसाद खाँदा विरामी हुनेको संख्या ८० पुगेको छ। विरामी हुनेमध्ये शनिश्चरे नगर अस्पतालमा ३४ जना, बीएण्डसी अस्पतालमा ४ जना र मनमोहन अस्पतालमा ३ जना उपचारका लागि भर्ना भएका छन्। ३९ जनालाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ।
प्रसाद खाएर विरामी भएकामध्ये उपचारपछि ५९ जना घर फर्किएका थिए तर उनीहरुमा पुनः समस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजविक्रम खड्का जानकारी दिए।
बुधवार अर्जुनधारा–९ निवासी रीता निरौलाको घरमा पूजा गरिएको थियो। सो पूजामा प्रसाद खानेहरु विरामी परेका हुन्। ‘फुड पोइजन’ भइ उनीहरु विरामी भएको हुनसक्ने अनुमान गरिएको छ।
विरामीका कारण गाउँ नै सोत्तर भएपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीलगायतले अस्पताल पुगेर विरामीलाई भेट गर्दै उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश विरामी परेको बताइएको छ। प्रसाद खानेलाई शुरुमा वाकवाक लाग्ने, बान्ता हुने तथा लगातार झाडापखाला हुने जस्ता समस्या देखिएको थियो।
केही विरामीमा उच्च ज्वरो (१०४ डिग्रीसम्म) देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। शनिश्चरे आधारभूत अस्पतालमा शय्या अभाव भएपछि बार्दली र भुइँमा राखेर विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालले सम्पूर्ण स्रोत साधन प्रयोग गरेर विरामीको उपचार गरिरहेको नगरप्रमुख गोम्देनले जानकारी दिए। सबै विरामीको अजुर्नधारा नगरपालिकाले निःशुल्क उपचार गर्ने जनाएको छ। विरामीलाई थप उपचार आवश्यक परे अन्यत्र अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राखिएको नगरप्रमुख गोम्देनले बताए।