शुक्रबार म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल,न्यु वेष्ट प्वाइन्ट आवासीय माविको क्यान्टिन र ५ वटा किराना पसलमा अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख सहन्सा कुमार मेहताले बताउनुभयो ।

बजार अनुगमनको क्रममा उपभोग्य अवधी समाप्त भएको खाद्य सामग्री तथा म्याद गुज्रेका सामान बिक्री गरेको , मुल्यसुची नराखेर संचालन गरेको र नवीकरण नगरेको पाइएको छ । अनुगमनमा भेटिएका कमी, कमजोरीलाई तत्कालै सुधार गर्न उद्योगी, व्यवसायीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो। करिब चालिस हजार मुल्य बराबरको खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ ।

दसैँ, तिहार र छठ लगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएर निरन्तरता दिइने कार्यालयले जनाएको छ । अनुगमनमा उद्योग तथा पर्यटन कार्यालय प्रमुख पोषनाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ सहित जिल्ला प्रशासन कार्यालय ,बेनी नगरपालिका ,जिल्ला प्रहरी कार्यालय,र पत्रकार महासंघ म्याग्दी शाखाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो।

म्याग्दीमा हरेक समय गरिने अनुगमनमा विगतका सुझावहरु कार्यान्वयन नहुने गरेको पाइएको छ । अनुगमनमा दिइएको निर्देशन ब्यापारीले लत्ताउँदा समेत नियमन गर्ने निकायहरु टुलुटुलु हेरेर बस्न बाध्य छन् ।

Leave a Reply