बेनी नगरपालिका–३ भकिम्लिका लालबहादुर पुनको बारीमा अहिले किवी लटरम्म फलेको छ । गत सालको दसैँ–तिहारमा टिपेर काँटछाँट गरेपछि अहिले पाक्ने भएका किवीको दानाले मनै फुरुङ्ग बनाएको उहाँको अनुभव छ ।

‘गत वर्ष १० क्विन्टल किवी बिक्री गरेको थिएँ । अहिले अझ बढ्छ कि भन्ने आशा गरेको छु, हेरौँ कस्तो हुन्छ’ उहाँ भन्नुभयो । २०७४ सालमा युकेको भिजा लागेको थियो, तर त्यही समय काभ्रे भन्ज्याङका डा. सूर्य पाण्डेको किवी फर्ममा राम्रो किवी फलेको देखेपछि मेरो मन युके छाडेर किवीतिर मोडियो ।

बेलायत जान प्रक्रिया अगाडि बढाएर प्रवेशाज्ञा समेत आइ सकेपछि मोडिएको किवी खेतीको हुटहुटीले उहाँलाई अहिले जिल्लाकै मुख्य किवी व्यवसायी बनाएको छ । २०७४ सालदेखि किवीको बिरुवा रोप्न थाल्नु भएका २०७९ सालमा ८ क्विन्टल बिक्री गर्नु भएको थियो । ‘२०८० को भन्दा एक क्विन्टल बढी बिक्री गर्ने लक्ष्य हो, हेरौँ के हुन्छ’ पुनले सुनाउनुभयो ।

दुई छोराछोरी र श्रीमतीसहित किवी खेतीमा लाग्नु भएका पुनलाई आफ्नो आम्दानीले पनि सन्तुष्टि मिलेको छ । ‘घरमा आमा हुनुहुन्छ अनि श्रीमती र छोराछोरीले पनि मेरो कामलाई साथ दिनुहुन्छ । सबै मिलेर काम गर्न पाउनु पनि हाम्रो लागि खुसीको कुरा हो’ उहाँले भन्नुभयो ।

‘भकिम्लि क्षेत्रमा किवीको उत्पादन हुन्छ भन्ने थाहा पाएपछि युकेको भिसा लागेका लालबहादुरले पनि युके जान छाडेर आफ्नै जमिनमा किवी खेती थाल्दा निकै आनन्द लाग्यो’ बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदमबहादुर पुनले भन्नुभयो । आफ्नै जमिनमा आफैले मेहनत गरेर गाउँघरमै रमाउने उहाँजस्ता व्यक्ति समाजका लागि उदाहरण भएको वडा अध्यक्ष पुनले भन्नुभयो ।

२०७४ सालमा पहिलो पटक किवीका बिरुवा लगाउनु भएका पुनले अहिलेसम्म दुई सय ५० बोट रोप्नुभएको छ । उहाँले हालसम्म किवीको बिरुवा तथा किवीलाई टेका लगाउने तार लगाएर बोटलाई व्यवस्थित गर्ने लगायतका संरचनामा १२ लाख लगानी भएको सुनाउनुभयो ।

“१२ लाख लगानी गरेँ र पछिल्लो दुई वर्षमा मात्र पाँच लाखको किवी बिक्री गरिसकेको छु, यही बोटले ४०–५० वर्षसम्म उत्पादन दिन्छ भन्ने सुनेको छु । त्यति धेरै नभए पनि यसले अझ ३० वर्ष कम्तीमा पनि उत्पादन दिन्छ भन्ने आशा छ” उहाँले भन्नुभयो ।

किवी खेतीबारेमा चासो राख्ने र रोग किराको समस्या तथा समाधानका उपायका बारेमा चासो राखेर लालबहादुर अघि बढ्ने गरेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । उहाँले भन्नुभयो, “एक पटक तालिम लिन मुस्ताङ नै आइपुग्नु भएको थियो, उहाँको लगाव र सिक्ने चाहना देख्दा उहाँ यो पेसामा सफल हुने अपेक्षा गर्न सकिन्छ ।”

सुरुमा केही अनुदान र केही आफूले खरिद गरेर किवीको बोट लगाउनु भएका पुनले हाल ग्रेडीङ गरेर ग्रेडअनुसार एकसय ५० देखि तीनसय रुपियाँसम्म पनि प्रतिकिलोमा किवी बेच्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सानालाई १५० मा पनि बेचिन्छ भने कतिपय सुरुको समयमा तीनसय रुपियाँसम्म पनि बेच्ने गरेको छु, सरदर हिसाब गर्ने हो भने दुईसय रुपियाँ प्रतिकेजी हो ।’

किवी उत्पादन र मेहनत दुवैले कृषि क्षेत्रकालाई उत्साह दिने गरेको छ, बेनी नगरपालिकाका कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो–‘बगैँचा व्यवस्थापन, अनि बोटको बारेमा ज्ञान र चासो पनि निकै राम्रो छ, त्यसैले उहाँले बोट लगाएको छोटो अवधिबाटै उत्पादन लिन पनि थाल्नु भएको छ ।

Leave a Reply