म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका जस्मिन थापा क्षेत्री माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा हुन लागेको माछापुच्छ्रे क्रिकेट लिगको सिजन–३,मा धेरै रकममा खरिद गर्ने खेलाडीमा परेका छन् ।

जिल्ला र प्रदेशस्तरीय क्रिकेटमा जमेका थापालाई प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १ सय २० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आवद्ध गराउने क्रममा थापा क्षत्री १० हजार रुपैयाँमै विक्री भए ।

उनलाई इस्लामिक कंक्रोर्सले लक्की ड्र मार्फतनै खरिद गरेको छ । लेखनाथ बुमर्सले पनि थापामाथि १० हजारकै मुल्य लगाएकोमा कार्यक्रमका प्रमुख अतिथि स्याँग्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले गोला तानेका थिए । बिक्की सर्माले उद्घोष गरेको अक्सनमा थापा क्लवको तानातानमा परेका थिए । एमसीएल सिजन–३ का लागि खेलाडीहरुको न्युनतम ५ सय देखि १० हजारको मोलमोलाइ भएको थियो ।

‘क्रिकेटमा लागेपछिको यो सबैभन्दा सुखद् क्षण हो,अबका दिनमा अझै मेहनत गर्छु, म्याग्दीबाट पनि अब क्रिकेटको सम्भावना देखाउने प्रयास गर्छु’ क्रिकेटर थापाले भने । प्रतियोगितामा सहभागी अन्य क्लवले समेत उनलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए । उनलाई सिएनडी वारियर्सले समेत मोलमोलाई गरेको थियो ।

यसपटक अक्सनमा राखिएका मध्ये थापा सहित केही खेलाडी किन्नका लागि प्रतिस्पर्धी टोलीले हानथापनै गरेका थिए । क्रिकेटर थापा गण्डकी प्रदेशस्तरीय टि–ट्वान्टी, अन्डर १६, अन्डर १९, क्यानका खेलहरु खेल्ने गर्दछन् भने उनले नवौ राष्ट्रिय खेलमा उनले बागलुङबाट सहभागि भएका थिए ।

जिल्ला खेलकुद विकास समितिका खेल प्रशिक्षक मलिन रोकाले म्याग्दीका क्रिकेट खेलाडीले समेत गण्डकी प्रदेशस्तरीयमा राम्रो प्रर्दशन गरेको बताए । ‘मोलमोलाइमा पर्नु राम्रो हो, अबका दिनमा जिल्लाभित्र क्रिकेट प्रतियोगितालाई अन्य खेल सरह प्राथमिकता दिनुपर्छ’ प्रशिक्षक रोकाले भने ।

प्रतियोगितामा यसपटक ८ टोलीले सहभागिता जनाउँदै छन् । इस्लामिक कंक्रर्स, एभरेष्ट क्रिकेट क्लव, पोखरा फिनिक्स, कुस्मा वारियर्स, फिस्टेल अपमोस्ट, सिएनडी वारियर्स, आरके भिक्टोरियन्स र लेखनाथ बुमर्सले यो संस्करणमा भाग लिन लागेका हुन् ।आगामी शनिबारदेखि लेखनाथ स्थित इडन हेभेन क्रिकेट मैदानमा सुरु हुने यो लिग २ महिनासम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख सहित ट्रफी तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याटर तथा उत्कृष्ट बलरले नगद रु पाँच–पाँच हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।

Leave a Reply