म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका ८९ वर्षिय बेदप्रसाद उपाध्याय ठमठम हिडेर खेतबारीमा चाहर्नुहुन्छ । खेतबारीको क्षेत्रफल र भूगोलमा कुनै परिवर्तन छैन । ८० वर्ष पहिलेकै जग्गा जमिनमा फेरिएको छ बालीको जात र प्राङ्गारिक मल हाल्ने खेतबारीमा रासायनिक मल र विषादी छर्कने हातहरु ।
“गौरिया र गुडुराका बाला लहलह भएर झुल्ने खेतको फाँटमा अहिले विकासे जातका दुई भित्ते धान उभिएको देख्दा दुःख लाग्छ” उपाध्यायले भन्नुभयो “माटोको स्वरुप नै फेरिएको छ,फुस्रो र खरानीजस्तो भएको छ माटो । कृषिबाट बेलाबेलामा हेर्न आउने कर्मचारीहरुले माटोमा अम्लीयपना बढेर यस्तो भएको हो भन्छन् ।”
यस्तै अनुभव सुनाउनुहुन्छ खबराका ६२ वर्षिय चन्द्रबहादुर कार्की पनि । कार्कीले जिल्लाको सदरमुकाम बेनीबजार नजिकै पर्ने खबरामा व्यवसायीक कृषि पेशा गरेको करिव चार दशक भयो । सुरुका दुई दशकमा १० मुरी गुडुराको धान फल्ने खेतमा पछिल्लो समय मुस्किलले चार मुरी उत्पादन हुने गरेको र अहिले गुडुराको बिउ छोडेर उन्नत जातको विउ लगाउँदा पहिले स्थानीय जातको गुडुरा धान जतिनै (१० मुरी) उत्पादन भएको अनुभव सुनाउनु भयो ।
पहिले पहिले कुनै पनि विषादी र भिटामिनको प्रयोग नगरिकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी,फलफूल, हिउँदे र बर्खेबाली विक्रि गरेर लभ्लीहिलमा तीनतले पक्कीघर र सदरमुकाम बेनी बजारको मंगलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेसाबाट वितृष्णा जागेको बताउनुहुन्छ ।
जलवायु परिवर्तनका कारण माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएपछि आग्र्यानिक रैथाने कृषि उत्पादन अब तीब्ररुपमा घट्दै गएको र विषादीको प्रयोग गरेर खेती गर्न आफ्नो मनले नमानेको हुँदा वर्षौदेखि गर्दै आएको ‘खेती गरौं की छोडौं’ को स्थितिमा पुगेको उहाँले बताउनुभयो ।
“मैले सुरुदेखि नै आग्र्यानिक रैथाने जातका खेतीलाई महत्व दिएँ, यहीँ माटोमा पसिना बगाएर पुग्दो सम्पत्ति पनि जोडें” कार्कीले भन्नुभयो “विगत पाँच/छ वर्षयता माटोमा अम्लिएपना बढ्दै गयो,रैथाने विऊबाट फसल उत्पादन घट्दै जान थाल्यो,विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो” उहाँले भन्नुभयो ।
“अचेल त विष प्रयोग नगरी तरकारी फल्दैन,बाली पाक्दैन । प्रत्येकको घरको भान्सामा विष मिसिएको तरकारी नपकाइ सुख्खै छैन” कार्कीले भन्नुभयो ।
कृषिमा जलवायु परिवर्तनले पारेको असरका कारण यस्तो समस्या उत्पन्न भएको अगुवा कृषक कार्कीको बुझाइ छ । कृषक कार्कीको बुझाइसंग कृषि विज्ञहरु पनि सहमत छन् । उनीहरुका अनुसार कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ । फलफूलहरु ढिलो पाक्न थालेका छन्,वातावरणीय सन्तुलन विग्रदै जान थालेको र रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको कृषि विज्ञहरुले बताएका छन् ।
नेपालका वरिष्ठ कृषि वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार जलवायु परिवर्तनका कारण यस्ता समस्या म्याग्दीमा मात्रै होइन जताततै देखिन थालेका छन् । कृषि वैज्ञानिक कार्की भन्नुहुन्छ “जलवायु परिवर्तनका कारण रैथाने जातहरूको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बिऊहरु त लोप पनि भैसकेका छन् ।”
जलवायु परिवर्तनले रैथाने जातका बीउ हराउने मात्रै होइन कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको उहाँको भनाइ छ ।परिवर्तित जलवायु सुहाउँदो खेती गर्ने प्रयासहरू नगरिदा यसले नेपालको खाद्य सुरक्षामा नै दीर्घकालीन प्रभाव पारिरहेको कृषि विज्ञहरुको भनाइरहेको छ ।
किसानहरुका अनुसार सुन्तला,आँप लगाएतका फलफूलमा कोपिला लाग्ने,फूल फुल्ने र फल पाक्ने समय पनि परिवर्तन भएको छ । सुन्तला मंसिरमा पाक्न थालेको छ । पहिला पहिला माघमा कोपिला लागेर फागुनमा आँपको फूल फुल्थ्यो भने अहिले आँपको फूल कि त चैत कि त वैशाखमा फुल्न थालेको कृषकहरुले बताएका छन् ।
कृषिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पर्न थालेको कृषि प्राविधिकहरु बताउछन् । यस वर्ष मुस्ताङमा भदौ दोस्रो सातामा नै स्याउ बजारमा आयो । तर स्याउको स्वाद भने विगतका वर्षहरुको भन्दा फरक रहेको उपभोक्ताहरुको भनाइ छ ।
त्यस्तै अनपेक्षित रूपमा कम वा बढी वर्षा हुँदा सिमी,आलु,करेला, भिन्डी, काँक्रो, बोडी र घिरौंला जस्ता तरकारीको गुणस्तर र रङ र स्वाद पनि बदलिएको कृषकहरुको भनाइ छ ।नेपालको कृषि प्राकृतिक मौसममा आधारित भएकाले जलवायु परिवर्तनबाट अझ धेरै प्रभावित हुने जोखिममा रहेको कृषि वैज्ञानिकहरुको भनाइ छ ।