हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित रोयल, रेड, गोल्डेनलगायतका स्याउ आजदेखि टिप्न थालिएको छ । गएको भदौ पहिलो हप्ता जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा सम्पन्न सरोकारवालाको बैठकले स्याउ टिप्ने समयतालिका बनाएको थियो । तालिकाअनुसार असोज महिना लागेपछि रोयल, रेड र गोल्डेन डेलिसियसलगायत प्रजातिका स्याउ टिप्न शुरू भएको हो ।
पाँचवटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानले टिपेर बजारमा पठाउने तयारी थालेका कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । मुस्ताङका किसानले लगाएको रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस र फुजीलगायत प्रजातिका स्याउ टिपेर बजार पठाउन शुरू भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो ।
उहाँका अनुसार मुस्ताङमा उत्पादित छिटो पाक्ने गाला प्रजातिको स्याउ भदौ १० र किङरोट रेड डेलिसियस प्रजातिको स्याउ भदौ १५ गतेपछि टिप्ने निर्णय भएको थियो भने अन्य प्रजातिका स्याउ असोज लागेपछि मात्रै टिपेर बजार पठाउने निर्णय भएको थियो । छिटो पाकेका स्याउ भने टिपेर यसअघि नै बजार पठाइसकिएको छ ।
मुस्ताङको स्याउ उपयुक्त समयमा टिप्यो भने निकै स्वादिलो र गुणस्तरीय हुन्छ । समय पुगेको स्याउले उपभोक्तामा पनि ख्याती कमाउने तथा किसानले समेत राम्रो मूल्य पाउने भएकाले स्याउ टिप्नका लागि समय निर्धारण गरिएको सरोकारवालाहरु बताउँछन् ।
मुस्ताङमा १४ सय ७५ हेक्टर क्षेत्रफलको जमिनमा स्याउ खेती गरिएकोमा ५ सय ८० हेक्टरको स्याउले उत्पादन दिँदै आएको छ । गतवर्ष मुस्ताङमा ४ हजार ९ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अनुकुल मौसम, बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तारलगायत कारणले विगत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि प्राविधिकहरु बताउँछन् ।
मुस्ताङमा सबैभन्दा राम्रो स्याउ फल्ने मार्फा र टुकुचेलाई मानिन्छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँचवटै वडा, थासाङको टुकुचे, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र चैले स्याउ उत्पादनको पकेट क्षेत्र मानिन्छन् । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केही वडा र लोमान्थाङ गाउँपालिकामा समेत पछिल्लो समय स्याउ खेती हुन थालेको छ ।
मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । पछिल्लो समय उच्च घनत्वको ईटालीयन प्रजातिको स्याउ समेत लगाइएको छ । मुस्ताङमा उत्पादित स्याउ पाकेपछि व्यापारीहरु खरिद गर्न किसानको बगैंचामै पुगेका छन् ।
स्थानीय किसानले व्यापारीहरुलाई स्याउको बगैंचा नै बिक्री गर्ने गर्दछन् । आफ्नो ८ रोपनी जग्गामा लगाएको स्याउ पाकेपछि टिपेर बिक्री गर्ने तयारी गरिएको जोमसोमका स्याउ उत्पादक किसान छिरिङ गुरुङले जानकारी दिनुभयो ।
मुस्ताङको स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बाग्लुङ, कुस्मा, पोखरा, काठमाण्डौ, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र विदेशी बजारमा पुग्ने गरेको छ । समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउ खेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै ३ क्वीन्टलसम्म स्याउ उत्पादन गर्न सकिने किसानको अनुभव छ ।
मुस्ताङका किसानहरुले स्याउबाट जुस, ब्राण्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाईडर जस्ता परिकारहरु बनाएर बिक्री गर्ने गरेका छन् । मुस्ताङमा उत्पादित स्याउ स्वदेशी र विदेशी बजारमा खुब रुचाउने गरिन्छ । अहिले त्यही मुस्ताङको स्याउ बजार जानका लागि तयारी अवस्थामा पुगेको छ । मुस्ताङको स्याउ भनेपछि उपभोक्ताहरु पनि हुरुक्कै हुन्छन् । मुस्ताङको मार्फालाई स्याउको राजधानीसमेत भनेर चिनिन्छ ।