default

म्याग्दीको मंगला गाउँपालिका-२,स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा २२ जना बढी बिरामी भएका छन् । प्रेम सापकोटाको घरमा श्राद्धको प्रसाद खाएर बिरामी भएकामध्ये बेनी अस्पतालमा १५ जनाको उपचार गरिएको छ भने अन्य बिरामीको घरमा रहेको बताइएको छ ।

गत भदौ ३१ गते प्रसादका रुपमा खिर खानेहरु बिरामी परेका हुन् । बिरामीमध्ये ५ जना बालबालिका छन् भने केही बृद्धबृद्धा समेत रहेको बेनी अस्पतालले जनाएको छ । बिरामीमध्ये एकजना बृद्धालाई थप उपचारका लागि पोखरा रिफर समेत गरिएको छ भने अधिकांस बिरामी बेनी अस्पतालमै उपचारार्थ छन् ।

सामान्य अवस्थामा बिरामीले घरमै औषधि सेवन गरेर बसेको बावियाचौरका स्थानीयबासीको भनाई छ । बिरामी सबै खतरामुक्त छन् । प्रसाद खाएपछि एक्कासी समस्या देखिएको बिरामी भूमी घर्तीले बताउनुभयो। प्रसाद खानेलाई सुरुमा वाकवाक लाग्ने, बान्ता हुने तथा लगातार झाडापखाला हुने जस्ता समस्या देखिएको थियो । केही बिरामीमा ज्वरो देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पूजाआज,भोजभतेरमा फुड पोइजनको समस्या हुने भएकाले सर्तकता अपनाउनुपर्ने बेनी अस्पतालका डा. गोविन्द पोख्रेलले बताउनुभयो । गर्मी बढेसँगै फुड पोइजनका समस्या लिएर सामुहिक बाहेक पनि बिरामी अस्पतालमा आउने गरेका छन् । वाकवाकी लाग्ने, झाडापखालाले सताउने र पेट दुख्ने समस्या फुड पोइजनका कारण पनि हुनसक्छ । गर्मी याममा बासीसडेगलेका खाना नखाने, उमालेको पानी पिउने, काँचै खाने खानेकुरा राम्रोसँग पखालेर मात्र खाने, हातको सफाइमा ध्यान दिनुपर्ने डा. पोख्रेललको सुझाव छ ।

Leave a Reply