सोह्रश्राद्ध अर्थात् पितृपक्षमा म्याग्दीमा कर्मकाण्ड गराउने योग्य पुरोहितको अभावका कारण आफ्ना पितृलाई पिण्ड दान गर्नेलाई समस्या उत्पन्न भएको छ ।पिण्ड दान गराउने कर्मकाण्डी पण्डितको अभावका कारण पिण्ड दान गर्नेलाई समस्या उत्पन्न भएको हो।

पिण्ड दान गराउने पुरोहितको गाउँगाउँमा चरम अभाव तथा उपलब्ध पुरोहितमध्ये नयाँ पुस्ताका कर्मकाण्डी तथा ज्योतिषीले पूजा पाठ, सोह्रश्राद्ध गराउन रुचि नराख्ने, तथा आफ्ना घर परिवारको गुजारा चलाउन गाह्रो हुनेभएको र अन्य पेसामा समेत लागेका कारण पुरोहितको अभाव भएको हो ।विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहुँदा योग्य पुरोहितको अभावमा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन्।

ब्राह्मणकै अभावमा श्राद्धकर्म, जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयहरु चिन्तित हुन थालेका छन्। संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरुले पनि संस्कृत पढन् छाडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणको अभाव हुन थालेको स्थानीयवासी बताउँछन्।

वेद, उपनिषत्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक भए पनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको मंगला गाउँपालिका २ का देविराम कँडेलले बताउनुभयो ।

“हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो,” कडेलले भन्नुभयो “संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा श्राद्ध, न्वारन, विवाह र मृत्युसंस्कारजस्ता नगरी नहुने कर्महरु गर्न पनि समस्या हुनथालेको छ।” संस्कृत शिक्षा हिन्दूहरुको जीवन पद्धतिसँग जोडिएको शिक्षा भए पनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ ।

गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिक रूपमा स्खलित भएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनले आफूखुसी ‘धूपं समर्पयामी, नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र संकल्पमा सम्वत्सर, नक्षत्र, तिथिसमेत गलत उच्चारण गर्ने गरेको आफूले पाएको पण्डित नीलकण्ठ आचार्यले बताउनुभयो ।

“शुद्धसँग वेदका ऋचा उच्चारण गर्न नसक्ने र आफ्नो आचरणमा नरहेका ब्राह्मणले पनि अरु कुनै पेशा गर्न नसकेर कर्मकाण्डमा लाग्दा ब्राह्मणको समेत बदनाम भएको छ,” उहाँले भन्नुभयो ।

अहिले संस्कृत पढेर सुनिश्चित भविष्य नहुने र कर्मकाण्ड व्यावसायिक पेशा अझै हुननसकेकाले संस्कृतप्रति मानिसको उदासीनता बढेको हुनसक्ने म्याग्दी बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्राध्यापक नारायण सुवेदीले बताउनुभयो । कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव शुरु हुनथालेको हो। अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको सङ्ख्या दुई/तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्ने पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ ।

प्रत्येक वर्ष भदौ महिनाको पूर्णिमाको दिन अगस्तमुनिलाई पानी दिएर त्यसको भोलिपल्ट अर्थात् असोज महिनाको कृष्णपक्ष प्रतिपदा तिथिदेखि आफ्ना पितृको सम्झनाको तिथिमा असोज महिनाको अमावश्यासम्म पितृ तर्पणसँगै पिण्डदान गर्ने गरिन्छ।

Leave a Reply