---Advertisement---

‘कक्षामा पढ्दै, बारीमा तरकारी फलाउँदै’

On: September 19, 2024 7:09 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–२,स्थित मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले सिजन अनुसारको कृषि उत्पादन गर्ने गरेका छन् । विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठा बाहेक खेबारीमा समेत पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन र अनुसन्धानसँगै बिक्री समेत गर्ने गरेको विद्यालयका शिक्षक करण कँडेलले बताउनुभयो ।

विद्यालयले प्राविधिक धारका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागी भाडामा लिएको जग्गामा च्याउ खेती, सिजन अनुसारको तरकारी फलाउने र घरमा समेत आमाबुबालाई सघाउने गरेका छन् । गतबर्ष विद्यार्थीले टनेलमा च्याउ उत्पादन गरी विद्यालयको नामबाट प्याकेजिङ गरी आधा केजीको १२५ रुपैयाँमा बिक्री गरेका थिए भने सिजन अनुसारको उत्पादन बिक्री गरी खर्च कटाएर विद्यार्थीले नै लैजान्छन् ।

’विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौ,विद्यार्थीले लगाएको तरकारीको बजार खोज्न समेत सघाउँछौ‘ विद्यालयका प्रधानध्यापक गम खत्रीले भन्नुभयो । विद्यालयमा सिकेको आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाई छ ।

विद्यार्थीको उत्पादनलाई लक्षित गरी थप जग्गा भाडामा लिने तयारी समेत भइरहेको विद्यालयका प्रअ खत्रीको भनाई छ । बालविज्ञानमा अध्ययनतर विद्यार्थीहरूको समय कक्षा कोठा र खेतबारीमा धेरै वित्ने गरेको छ ।

गाउँमै बाली विज्ञान पढ्न पाएकोमा विद्यार्थी खुसी छन् ।नेपाल सरकारको नमूना विद्यालय मंगलाले भाडामा लिएको २ रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रसस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीलाई पहिलो प्राथमिकता दिइएको छ ।

विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै ब्यवहारिक ज्ञान समेत आर्जन गर्न पाएकोमा भविस्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेकोविद्यार्थी बताउँछन्। विद्यालयमा बि.स २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । उक्त धारमा ल्याब असिस्टन्टेन्टसहित ९ जना दरबन्दी छ ।