“धुप में निकलो घटाऔं मे नहा कर देखो
जिंदगी क्या है किताबो को हटाकर देखो”
अर्थात् “प्रचण्ड गर्मीमा निस्क, ठण्डीमा नुहाएर हेर जिन्दगी के हो किताबबाट हटाएर हेर ।”जबजब जिन्दगीमा चुनौतिहरु ताँती बनेर आउन थाल्दछ तब कमजोर मान्छेहरु चुनौतिबाट भाग्न खोजेका हुन्छन् र सुखलाई मागेको हुन्छन् । तर जोसँग सपनाहरु हुन्छन्, जोसँग लक्ष्यको शिखर हुन्छ ।
उनीहरु जीवनका चुनौतिहरुबाट कहिल्यै भागेका हुँदैनन् बरु संघर्षको यात्रामा आफ्नो पाइलाहरु निरन्तर अगाडि बढाइरहेका हुन्छन् । किनकी जीवन जिउन जानेका व्यक्तिहरु जो आफ्नो कर्मलाई प्रेम बनाएका हुन्छन् । आफ्नो कर्मलाई पुजा बनाएका हुन्छन् । आफ्नो कर्मलाई नै प्रार्थना बनाएका हुन्छन् ।
यस सन्दर्भमा मलाई एउटा कथाको याद आएको छ – महान बौद्धभिक्षु नागार्जुन एउटा गाउँमा पुगे । उनी ठूला व्यक्ति थिए, मानिसहरु उनीसित धेरै आकर्षित थिए । एउटा मानिस उनीकहाँ आयो र भन्यो, “हजुर भिखारीको भेषबाट सम्राट जस्तो भएर यत्रतत्र भ्रमण गर्नुहुन्छ र म पनि हजुरसित अत्यन्त आकर्षित भएको छु, म पनि एउटा धार्मिक व्यक्ति हुँ जस्तो लाग्दछ ।
तर एउटा अड्चन छ । मसँग एउटी गाई छ, त्यसलाई औधी माया गर्छु र यी गाई पनि यति सुन्दर र सन्तजस्तो छ कि म यसलाई छोड्नै सक्तिन । उनीसँग त्यो गाई बाहेक अरु केही थिएन । उनकी पत्नी थिएनन्, बच्चाबच्ची थिएनन्, तसर्थ उनी सम्पूर्ण प्रेम तिनै गाईसित…, फेरी उनलाई नागार्जुनसँग भन्न केही दहकस लाग्यो । तर फेरी भन्नै प¥यो भन्ने आँट गरे । हजूरले मेरो कुरा बुझ्नुभयो होला मेरो खाली अड्चन त्यही गार्इँ मात्र भएको छ । मैंले यसलाई पालें, पोसें तसर्थ यसप्रति म अति नै अनुरक्त छु । तिनै गाई मसँग नै एक भएको छ ।
तिनै गाईले मलाई प्रेम गर्छिन् । मलाई बडो फसाद परेको छ । अब के गर्ने होला ? नागार्जुनले भने, ‘केही जरुरत छैन, कहीँ कुनै ठाउँमा जान । यदि कोही कसैसँग यसरी प्रेम गर्छ भने कहीँ जान र न त केही गर्नु नै आवश्यक छ । यही प्रेमलाई ध्यान बनाउ । यिनै गाईको ध्यान गर ।’
यहाँ यस्तै व्यक्तित्व हुनुहुन्छ, बेनी नगरपालिका वडा नं. ३ भकिम्लीका पृथी प्रसाद पुन, जसले आफ्नो कर्मलाई प्रेम बनाएका छन्, आफ्नो कर्मलाई नै ध्यान बनाएका छन् । यदि उनी धेरै पढेलेखेका हुन्थे भने धुलो माटोमा धुलाम्मे भएर कर्म गरेका हुँदैनथे । ।
पुनले विद्यालयबाट शिक्षा थोरै लिएका थिए तर आफ्नो संघर्षशील जीवनबाट धेरै कुरा सिक्दै गएका थिए । किताब थोरै जानेका थिए तर शिक्षाको महत्व राम्ररी बुझेका थिए । फलस्वरुप भकिम्लीको शैक्षिक क्षेत्र जबजब कमजोर स्थितिमा पुग्थ्यो तबतब ती चुनौतिहरुमा पुनको उपस्थिति हुन्थ्यो । यही कारण पुनकै सक्रियतामा जयन्ती माविलाई प्राथमिक विद्यालयलाई निम्न माध्यमिक विद्यालय सञ्चालन गर्न आर्थिक अभाव थियो ।
विद्यालयको यसै मर्मलाई बुझेका पुनले आफ्नो पहलमा दाजुभाइहरुलाई आर्थिक सहयोगका लागि सहमत गराई धरौटी जम्मा गर्नुका साथै आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा अक्षयकोष स्थापना समेत गर्नुभएको थियो भने पुनकै प्रमुख नेतृत्वमा प्रवासीहरुबाट आर्थिक सङ्कलन गरी विद्यालयको भव्य वार्षिकोत्सव मनाउन सफल हुनुभएको थियो ।
भकिम्लीको शैक्षिक, विकास निर्माण, धार्मिक पर्यटन प्रर्बधन सहित विभिन्न क्षेत्रमा निरन्तर सक्रिय समाजसेवी पुनले जयन्ती माविमा आर्थिक संकट भएपछि घरमा भएको दुहुनो भैसी समेत बिक्री गरी सहयोग गर्नुभएको थियो । आफ्नो घरको भन्दा समाजको मायाँले सताउने गरेकै कारण गाउँमा आवश्यक पर्ने हरेकमा समाजसेवी पुन जोडिनुभएको छ ।
यसै गरी पुनको सक्रिय नेतृत्वमा विकासे कार्यक्रम अन्तरगत दुधेखोला हुदै भकिम्लीबाट ताराखोला गाउँपालिका जोड्ने मोटरबाटो निर्माण गर्ने काम सम्पन्न गर्नुभएको थियो । गाउँमा मोटरबाटो पुर्याउन तत्कालिन समयमा आफ्नो र गाउँलेको जग्गाको लालपूर्जा समेत धितो राखेर सडक विस्तारको नेतृत्व गर्नुभएका पुनले गाउँमा पहिलोपटक मोटरबाटो पुग्दा त्यसको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । नामभन्दा काममा विश्वास राख्ने समाजसेवी पुनको योगदान हरेक भकिम्लीबासी जानकार छन् ।
भकिम्लीको शीरमा अवस्थित श्री स्वर्गाश्रम स्थल तपोभूमि भएकाले धार्मिक एवम् आध्यात्मिक दृष्टिकोणले धार्मिक पर्यटकीय क्षेत्र बन्न सक्ने यथेष्ट सम्भावना भएकोले उक्त तपोभूमिको अवशेषहरुलाई संरक्षण गर्नुका साथै प्रवद्र्धन, सम्वद्र्धन गरी आकर्षक केन्द्रबिन्दु बनाउने लक्ष्य र उद्देश्यका साथ बेलढुंगा र स्वर्गाश्रम भूमिलाई नै टेवा पुग्ने हिसाबले भकिम्ली सामुदायिक बाघखोर पार्क निर्माण समितिको अध्यक्ष पदमा रही पार्क व्यवस्थापन गर्ने कार्यका साथसाथै कालिका मालिका देवीको भेटघाट मन्दिर निर्माण कार्यमा समेत अहोरात्र खट्दै आउनुभएको थियो ।
यसरी सामाजिक चेतनाबाट माथि उठेका विकासप्रेमी व्यक्तित्व पुनको आध्यात्मिक चेतना पनि उत्तिकै राम्रै देखिन्छ । अध्यात्मको पहिलो यात्रा डा. योगी विकासानन्दबाट सुरु गरेका थिए । यस चिन्तनसँगै पछिल्ला दिनहरुमा विपश्यना ध्यान, भावातीत ध्यान र दिव्य ध्यान जस्ता थुप्रै आध्यात्मिक आयामहरुलाई आफ्नो जीवनपद्धतिमा समावेश गरी सन्तुलित जीवन यापन गर्दै आउनुभएको छ ।
उहाँको जन्म पिता मनबहादुर पुन र माता रत्नकला पुनको कोखबाट साहिँला पुत्रको रुपमा वि.सं. २०१५ साल भाद्र २९ गते सोमबारको दिन बेनी नगरपालिका–३ भकिम्ली भन्ने ठाउँमा भएको हो ।