गण्डकीमा डेंगीः यो वर्ष ६ जनाको ज्यान गयो

0
10

डेंगीले यो वर्ष गण्डकी प्रदेशमा अहिलेसम्म ६ जनाको ज्यान गएको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये ३ जना महिला र ३ जना पुरुष रहेका छन। मन्त्रालयका अनुसार कास्कीका ३ जना, तनहुँ, म्याग्दी र स्याङजाका १–१ गरि ६ जनाको ज्यान गएको छ। पछिल्लो पटक असोज २ मा स्याङजाकी ७० वर्षिया महिलाको डेंगीबाट मृत्यु भएको थियो। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।

पछिल्लो समय कास्कीको पोखरामा डेंगी संक्रमण तिब्र भएको छ। मन्त्रालयका प्रवक्ता सुरज गुरौले अहिलेसम्म ६ जनाको ज्यान गएको र प्रदेशमा ८ हजार ६ सय २० जना संक्रमित बनेको बताए। ‘अहिलेसम्म ६ जनाको ज्यान गएको छ। संक्रमितको संख्या दिनहुँ बढिरहेको छ,’ गुरौले भने, ‘अहिले पनि नियन्त्रणमा आइसकेको छैन । अहिले पनि संक्रमणको दर बढिरहेको छ।’

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीका ४२ सय ४५, तनहुँमा २३ सय २९, पर्वतमा ७ सय ८२ जना संक्रमित छन्। त्यस्तै गोरखामा ३ सय ९९, स्याङजामा ३ सय १०, बागलुङमा २ सय ४३, म्याग्दीमा १ सय ९, नवलपुरमा १ सय ४, लम्जुङमा ९४ र मुस्ताङमा ३ जना संक्रमित छन्। मनाङमा भने केही समय अघि देखिएका संक्रमित निको भईसकेका छन्।

‘डेंगी संक्रमण लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। डेंगी सार्ने लामखुट्टे सफा पानीमा मात्र फैलिन्छ। त्यसैले भाँडाकँुडामा जथाभावि पानी जम्मा नगरौ भन्दा पनि समुदायले अटेर गर्दा यो अवस्था आएको हो,’ उनले भने, ‘घरभित्र भन्दा बाहिरतिर भाडाँकुँडामा संकलन भएको सफा पानीमार्फत यो लामुख्टटे फैलिन्छ। त्यसैले जथाभावि पानी जम्मा नगरौ।’ समूदायमा सचेतनाका कार्यक्रम संचालन गरेको भएपनि नागरिक आफै सचेत नहुँदा हरेक वर्ष संक्रमण बढ्ने गरेको उनले बताए।