वैदेशिक रोजगारीका क्रममा ९ बर्षदेखि मलेसियामा हराएका म्याग्दीको धवलागिरी गाउँपालिका-४,का लिल प्रसाद घर्ती फेला परेका छन् ।

११ बर्ष अगाडी मलेसिया गएका घर्ती सम्पर्कविहिन भएको भन्दै लिलप्रसादकी श्रीमति लक्षिमा घर्तीले म्याग्देलीको साझा संस्था मोना मलेसियालाई खोजीका लागि गरेको समाचारमा प्रकाशित भएपछि मोना मलेसिया खोज तथा उद्धारमा जुटेको थियो ।

नेपाली दुताबास तथा समाचारको माध्यमबाट घर्ती सेलाङ्घर भन्ने स्थानमा रहेको एक केमिकल कम्पनीमा भेटिएको मोना मलेसियाका अध्यक्ष पूर्णबहादुर रोका मगरले बताए ।

‘उहाँलाई हामीले फेला पारेका छौ, समाचार र सामाजिक सञ्जालमा पोष्ट देखेपछि कम्पनीमा कार्यरत नेपालीले नै सम्पर्क गर्नुभएको थियो’ अध्यक्ष रोकाले भन्नुभयो । घर्ती कार्यरत कम्पनीमा पुगेर महासचिव केश रोका मगरले स्वास्थ्य अवस्था र अन्य विविध जानकारी लिएका छन् । ‘हामीले परिवारसँग पनि सम्पर्क गराएका छौ, उहाँ निकै खुसी हुनुहुन्छ, अब सुरक्षित घर पठाउँछौ’ महासचिव रोका मगरले भने ।

उनका अनुसार केमिकल कम्पनीमा कार्यरत रहदाँ घर्तीको दुबै आँखामा समस्या देखिएकाले काठमाण्डौमा उपचार सहित अन्य खर्चका लागि मोनामार्फत सहयोग जुटाइने छ । कम्पनीमा मजदुरलाई निकै ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको अवस्था देखिएको मोना मलेसियाका महासचिव रोका मगरको भनाई छ ।

९ बर्षदेखि परिवारसँग सम्पर्क टुटेको अवस्थामा एक्कासी दुबईमा रहेका छोरासँग फोनमा कुरा गर्दा घर्ती सुखी देखिन्थे । मोना मलेसियाको सक्रियतामा घर्तीको खोजीकार्य सम्भव भएको आफन्तको भनाई छ ।

‘यो नै सबैभन्दा ठूलो खुसी हो, हामीलाई मोनाले खुसी फर्काउन सफल भएको छ, अब काठमाण्डौ पुगेर घर ल्याउँछौ’ छोरा चित्र घर्तीले भने । उनले आफ्नो बुबाको खोजिदिन पहल गरिदिने सबैप्रति आभार प्रकट समेत गरेका थिए ।

घर्तीको खोजीका लागि जिल्ला प्रशसान कार्यालय म्याग्दीमा रहेको आप्रवासी सहायता केन्द्रको समेत सक्रियता रहेको थियो । घर्ती कार्यरत कम्पनीले विमा सहित अन्य सुविधा समेत नदिएपछि टिकटका लागि कम्पनीमा पहल भइरहेको छ । मलेसियामा घर्ती बेपत्ता भएको पहिलोपटक बेनीअनलाइनले बिहिबार समाचार प्रकाशित गरेको थियो ।

Leave a Reply