धवलागिरि हिमाल आरोहणका लागि १४ जनालाई अनुमति

म्याग्दीको धवलागिरि हिमाल आरोहणका लागि यस वर्षको शरद् याममा १४ जनाले अनुमति लिएका छन् ।एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट १६ लाख ८९ हजार ३० रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

गएको वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । त्यसवापत ७१ लाख ७० हजार सात सय ५० रुपैयाँ शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।

आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहनुभएका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए ।

पर्यटन विभागको पछिल्लो विवरणअनुसार यस यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् ।

उनीहरुबाट चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ रुपैयाँ आरोहण शुल्क प्राप्त भएको छ ।

शरद् याममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ ।

अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म रुपैयाँ सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।

शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो ।

पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो पाँच, थाकर गो इस्ट चार, पुङ्गी पाँच, कुम्भकर्ण छ, अरनीको चुली तीन, अपी छ र मकालु पहिलो आरोहण गर्न दुई जनाले अनुमति लिएका छन् ।

शरद् याममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ ।

गएको वसन्तयाममा नेपालका ३० वटा हिमाल आरोहणका लागि एक हजार दुई जनाले अनुमति लिएका थिए ।

उनीहरुले रु ६८ करोड ९९ लाख ७५ हजार तीन सय ११ आरोहण शुल्क तिरेको विभागको वेबसाइटमा उल्लेख छ ।

Previous articleबिमा बोर्डले बेनी अस्पतालको २ करोड ७५ लाख भुक्तानी गरेन
Next articleमुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीले सार्वजनिक ग¥यो प्रगति विवरण