डिजिटल कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा सानो कारोबार गर्ने सर्वसाधारण मर्कामा परेका छन् । अन्तर बैंक तथा भुक्तानी प्रदायक संस्थाबाट वित्तीय कारोबारमा १३ प्रतिशत भ्याट लिन थालेपछि डिजिटल कारोबार महँगो भएको छ ।

वित्तिय संस्थाले चेक र नगद नगद कारोबारलाई न्यूनीकरणमा जोड दिएपनि विद्युतीय माध्यमबाट न्यूनतम १० रुपैयाँ पठाउँदा सर्वसाधारणले ११ रुपैयाँ ३० पैसा खर्चिनुपर्छ ।

नगद कारोबारलाई निरुत्साहित गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेका म्याग्दीमा रहेका बैंक तथा वित्तिय संस्थामा दैनिकजसो ग्राहकले गुनासो गर्ने गरेको र पछिल्लो समय चेकबाटै कारोबार गर्नेहरूको संख्या समेत बढेको वित्तिय संस्थाका प्रतिनिधिको भनाई छ ।

‘डिजिटल कारोबार बढाउने नीतिमा भ्याटले असर गरेको छ, हामीलाई दैनिकजसो गुनासो आउँछ’ बैंकर्स संघ म्याग्दीका अध्यक्ष नवराज ढुंगानाले भने । उनले न्यूनतम कारोबारमा पनि १३ प्रतिशत भ्याट लगाउँदा डिजिटल कारोबार निरुत्साहित हुन जोखिम रहेको बताए ।

डिजिटल कारोबारलाई भ्याटको दायरालाई पुर्नविचार नगरे यसका ग्राहक घट्ने सम्भावना रहेको भन्दै म्याग्दीका वित्तिय संस्थाले माथिल्लो निकायमा जानकारी गराएको बताउँछन् । डिजिटल भुक्तानी गर्दा भ्याट फिर्ता दिने घोषणा गरेको अवस्थामा अहिले कारोबार शुल्कमै भ्याट लगाउन थालेपछि दैनिक कारोबार गर्ने ग्राहकले चेकमार्फत भुक्तानी झन्झटिलो भएपनि बाध्यता भएको बताउने गरेका छन् ।

‘मोबाइल बैंकिङमार्फत डिजिटल ट्रान्सफरमा अभ्यस्त भइसकेको अहिले क्यास बोक्दैनन्, उनीहरूलाई यो नितिले मर्का परेको छ’ बेनीका यूवा ब्यवसायी डिएल कँडेलले भने । उनको क्याफेमा दैनिक आउने ग्राहकले समेत डिजिटल भुक्तानी गर्ने गरेकोमा एक कप कफीको शुल्क तिर्दा ११ रुपैयाँ ३० पैसा अतिरिक्त खर्च हुन थालेपछि नगद नै दिने गरेका छन् ।

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट कारोबार ग्राहकको समस्याका बारेमा केही दिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार निःशुल्क बनाउने घोषणा गरेका थिए । अन्तरबैंक कारोबार र वालेको युटिलिटी पेमेन्टमा सेवा शुल्क लाग्छ । एउटै बैंकमा पैसा पठाउन तथा बैंकले प्रदान गरेको क्यूआर स्ट्यान्ड स्क्यान गरी भुक्तानी गर्न भने शुल्क लाग्दैन ।

Leave a Reply