वैदेशिक रोजगारीका लागि कतार आएर दूर दराजमा अलेखबद्ध  भएर काम गरी बसेका म्याग्दी रघुगंगा गाउँपालिका वडा नं २ राखु भगवतीका केदार केसी नेपाल फर्किएका छन् । करिब ४ साल पहिले कतार आएका केसी विगत २ सालदेखि अलेखबद्ध भएर बसेका थिए । (अलेखबद्ध हुनु भनेको श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाउनु हो)

केसी मोना कतारको सहयोग तथा समन्वयमा कतारको कानूनी प्रक्रिया पुरा गरी नेपाल फर्किएका हुन् । सेप्टेम्बर महिनाको पहिलो साता केसी मध्यान्हकर्मीको सम्पर्कमा आएका थिए । दोहा सहरदेखि करिब डेढ सय किलोमिटर टाढा रहेको एक मजारा (खेतीपाती गर्ने ठाउँ) मा लुकिछिपी काम गरेर बसेका उनको सहायताका लागि मोना कतारका अध्यक्ष राजु पौडेल, मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्की  पुगेका थिए ।

रातको समयमा पुगेका मोनाका प्रतिनिधिहरूले उनलाई रोजगारी प्रदान गर्ने व्यक्तिले नेपाल फर्कन अनुमति दिए÷नदिएको यकिन गरेपछि मात्र त्यहाँबाट लिएर आएका थिए ।

खेती किसानीको कामबाट निस्केर तीन वर्षमा सहर देखेका केसी खुसी देखिए । ‘ओहो अब त घर गइन्छ जस्तो भयो नि’ भन्दै यात्रामा गाडीभित्र आफ्ना खुसी साटे । आफ्नो घरको आर्थिक अवस्था अति न्यून भएका कारण मजदुरीले आफूले उक्त स्थानमा काम गरेको बताए ।

‘चिने जानेका एक जनाले लगेर छोड्दिए त्यही काम गरे समयसँगै धेरै दुःख गरे’उनले भने । मजारा छोडेर हिँड्ने बेला आफ्ना कतारी साहुले बाटो खर्च लैजा भनी ६ सय रियालसहित सबै तलब भुक्तानी दिएको बताइरहँदा उनको मुहारमा चमक देखिन्थ्यो ।

घरमा बाबाको खुट्टा फ्याक्चर भएको छ, आमाको मानसिक सन्तुलन बराबर छैन । भाइ मुस्ताङमा भेडी गोठमा छ, बहिनी घर बाहिर छ, केही समयका लागि’ उनले लामो सुस्केरा हाल्दै भने बाउ आमा पो टुहुरा जस्ता भए अनि म नेपाल फर्कन लागेको हो, बस्न मन त अझै अलिक समय थियो, उनले नेपाल फर्कन परेको दुखको गाँठो खोले ।

मजराबाट आएपछि उनी मोना कतारका वरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारीको निवासमा आश्रय लिए । विदेशबाट आएको भन्ने त हुन् पर्‍यो नि, मिठाइ चकलेट काजु किसमिस बोकेर जान्छु है, अक्षयकोषका अध्यक्ष कार्कीको अनुहारमा हेर्दै उनले आफ्ना साना–साना रहरको बिस्कुन लगाए ।

उनका साना–साना रहरको बिस्कुनलाई पूरा गर्दै वरिष्ठ उपाध्यक्ष भण्डारीले नेपाली नियोग लिएर गए । आवश्यक सर–सल्लाहपछि अपराध अनुसन्धान विभाग (सीआइडी)मार्फत नेपाल फर्किएर केसी आफ्नो जन्मगाउँ भगवती पुगेका छन् । गाउँ पुगेपछि उनले फोनमा कुरा गर्दै मोना कतार र आफ्नो दुःखको बेला साथ दिँदै नेपाल फर्कन सहजीकरण गर्ने सबैलाई आभार व्यक्त गरे । कतारमा रहेका म्याग्देलीलाई मोनामा आबद्ध हुन अध्यक्ष पौडेलले अनुरोध गरेका छन् । ‘मोना गृह जिल्लादेखि विदेशसम्म दुःख सुखको साथी हो, कोही समस्यामा हुनु हुन्छ भने पनि सम्पर्क गर्न सक्नुहुनेछ’ पौडेलले आग्रह गरे ।

 

Leave a Reply