म्याग्दीका चर्चित लोक गायक राजेन्द्र सापकोटाको नयाँ गीत ‘मै दुखीको लास’ हालै सार्वजनिक भएको छ। यो गीत नेपाली समाजमा आर्थिक समस्याले पिडित विपन्न परिवारको यथार्थलाई उजागर गर्ने उद्देश्यले तयार गरिएको हो।

गायक सापकोटाले यस गीतमा आफ्नो स्वर दिएका छन्, जसको शब्द र लय पनि उनकै सृजना हो। गीतको एरेन्ज तारानाथ सापकोटाले गरेका छन्, जसले यसलाई सांगीतिक दृष्टिकोणबाट अझै सशक्त बनाएको छ।

गीतमा चित्रित कथा समाजका तल्लो वर्गका परिवारले भोग्नुपरेको आर्थिक समस्या र तिनको पीडालाई गहिरो रूपमा प्रस्तुत गर्न खोजिएको छ। गायक सापकोटाले यस गीतको म्युजिक भिडियोको निर्देशन पनि आफैंले गरेका छन्। भिडियोमा म्याग्दीका चर्चित कलाकार रवि कार्कीको प्रभावशाली अभिनय देख्न सकिन्छ। कार्कीले गीतको कथावस्तुमा आधारित पीडादायी भावनालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेका छन्।

सार्वजनिक भएको केही घण्टामै गायक सापकोटाको आफ्नै युट्युब च्यानलमार्फत यो गीतलाई दशौं हजारले हेरिसकेका छन्। सामाजिक यथार्थलाई उठान गरेकोले गीतलाई आम दर्शकले अत्यधिक मनपराएका छन्।

म्याग्दीमा जन्मिएर हाल पोखरामा व्यवसायिक जीवन बिताउँदै आएका गायक सापकोटाले यसअघि दर्जनौं गीत सार्वजनिक गरिसकेका छन्। तर, ‘मै दुखीको लास’ भने व्यावसायिक दृष्टिकोणले भन्दा पनि समाजमा व्याप्त समस्यालाई उजागर गर्ने उद्देश्यले तयार पारिएको उनले बताए। उनका अनुसार गीत नेपाली समाजको यथार्थ चित्रण हो, जसले विपन्न वर्गको कठिनाईलाई नजिकबाट देख्न र बुझ्न प्रेरित गर्दछ।

गीतले नेपाली लोकगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

भिडियो 

Leave a Reply