“मानिस रुपैयाँ विना गरिब हुँदैन तर सपना र महत्वाकांक्षाविना वास्तवमै गरिब हुन्छ”
– स्वामी विवेकानन्द
खल्तीमा जम्मा ३० रुपियाँ मस्तिष्कमा सुन्दर भविष्यको सपना र आफ्नो मनमा अनेकन महत्वाकांक्षाहरु बोकेर आफ्नो गृह जिल्ला बाग्लुङ्गबाट एक आँटिलो युवा म्याग्दीको सदरमुकाम बेनीमा प्रवेश गरेका थिए । ती युवाको हातमा पढेलेखेको प्रमाणपत्र थिए तर लक्ष्य थिएन थुप्रै बाटाहरु सामुन्ने थिए तर शिखर थिएन ।

मनभरि जोश र उमङ्ग थियो तर जुक्तिहरु खुलेका थिएनन् । बाहिरको परिस्थिति अनुकुल थिएनन् तर भित्रका मनस्थिति प्रबल थियो । उनै युवा थिए, लिलाराम गौतम । उहाँको जन्म पिता माधवप्रसाद गौतम र माता कृष्णकुमारी गौतमको कोखबाट कान्छो पुत्रको रुपमा वि.सं. २०३४÷०८÷०८ गते बाग्लुङ्ग नगरपालिका–८ सिंगाना भन्ने ठाउँमा भएको हो ।

हुने बिरुवाको चिल्लो पात भनेझैं सानै उमेर देखि व्यवहारमा अनुशासन र पढाईमा तीक्ष्ण बुद्धि भएका गौतमले श्री सिगाना मावि तित्याङबाट वि.सं. २०५१ सालको एसएलसी उत्तीर्ण गर्नुभएको थियो । यसपछि महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङ्गबाट प्रमाणपत्र तहको शिक्षा हासिल गर्नुभएका गौतमले वि.सं. २०५३ सालदेखि २०५५ सालसम्म श्री ज्ञानकुञ्ज प्रावि सिगानामा अध्यापन गरी सेवा गरेका थिए ।

प्रगतिशील स्वभाव भएका गौतमले शिक्षण पेशाबाट बृहत्तर प्रगति हुने सम्भावना नदेखेपछि उक्त विद्यालयको अध्यापन कार्यलाई बीचैमा चटक्कै छोडी म्याग्दीतर्फ हानिएका थिए । वि.सं. २०५५ सालमा बेनी ओर्लिएका गौतम बेनीबजारमा रहेका एक आफन्तको छहारीमा ओत लागे ।

आफन्तकै राय सल्लाहबमोजिम वि.सं. २०५५ सालदेखि २०५८ सालसम्म म्याग्दी जिल्ला अदालत, मालपोत कार्यालयमा लेखापढी तथा कालीगण्डकी छापाखानामा कठोर मेहनत र संघर्ष गरेका गौतमको बिस्तारै समाजमा राम्रो इमेज र व्यक्तित्व स्थापित हुँदै गयो । फलस्वरुप समाजले गौतमलाई हेर्ने दृष्टिकोणमा दिनप्रतिदिन फरक आउन थाल्यो । इमान्दार, शालीन, भद्र एवम् मिलनसार स्वभावका गौतम साँच्चिै गुणवान र चरित्रवान थिए । यसका साथै समाजलाई नेतृत्व गर्न सक्ने क्षमता र योग्यता उहाँभित्र प्रशस्त थियो ।

यही योग्यताका कारण वि.सं. २०६५ सालमा मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक सचिव, २०६८ सालमा पहिलो पटक भएको म्याग्दी उद्योग वाणिज्य संघको निर्वाचनमा कार्य समिति सदस्य पदमा निर्वाचित, वि.सं. २०६९ सालमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीको अध्यक्ष हुँदै केन्द्रीय सदस्यमा निर्वााचित, वि.सं. २०६९ सालमा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला अध्यक्ष (२०६९–२०७८) वि.सं. २०७१ सालमा म्याग्दी उद्योग वाणिज्य संघको सचिव हुँदै वि.सं. २०७४ सालमा महासचिव, वि.सं. २०७७ सालमा द्वितीय उपाध्यक्ष, वि.सं. २०८० सालदेखि हालसम्म प्रथम उपाध्यक्ष हुनुहुन्छ ।

वि.सं. २०७८ सालमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको पहिलो निर्वाचित अध्यक्ष, वि.सं. २०७६ सालदेखि हालसम्म मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्ष, संस्थापक उपाध्यक्ष हुँदै २०७९ सालदेखि हालसम्म ब्राह्मण समाज म्याग्दीको अध्यक्ष हुनुहुन्छ ।

वि.सं. २०८१ जेठ देखि म्याग्दी जिल्लाको पुरानो विद्यालय प्रकाश माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष, म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को सञ्चालक, साविक धवलागिरी अञचलका चारवटा जिल्ला कार्यक्षेत्र रहेको विद्या विष्णु जेहेन्दार छात्रवृत्ति अक्षयकोषको संस्थापक उपाध्यक्ष हालसम्म । नेपाल रेडक्रस सोसाइटी, नेत्रज्योति संघको आजीवन सदस्य, लायन्स क्लब अफ म्याग्दीको सदस्य, नवीन आनन्द योग केन्द्र नेपाल म्याग्दी आजीवन सदस्य एवम् योग प्रशिक्षक र म्याग्दी मुद्रण संघको सल्लाहकार हुनुहुन्छ ।

यसरी विभिन्न समयमा विभिन्न संघसंस्थाहरुको गरिमामय पदमा रही अतुलनीय योगदान पु¥याएबापत् नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं अधिवेशन वि.सं. २०८० फागुन २० गते उत्कृष्ट प्रदेश अध्यक्षको रुपमा सम्मानित, नेपाल घरेलु तथा साना उद्योेग महासंघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन वि.सं. २०७८ सालमा सम्पूर्ण जिल्ला अध्यक्षहरुमा उत्कृष्टताको सम्मान पत्रद्वारा सम्मानित र वि.सं. २०७७ सालमा श्री ज्ञानकुञ्ज प्राविमा पूर्व प्रधानाध्यापकको रुपमा सम्मानित, वि.सं. २०८० सालमा लिटल गार्डेन एकेडेमीका उत्कृष्ट अभिभावकको रुपमा सम्मानित र अन्तर्राष्ट्रिय योगदिवस २०८१ मा नवीन आनन्द योग केन्द्र नेपाल म्याग्दीमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्रद्वारा सम्मानित हुनुभएको छ।

कुनै बेला ३० रुपैयाँ बाटोखर्च बोकेर म्याग्दीको चुनौतिपूर्ण यात्रा गरेका गौतमको जिन्दगी अहिले एकातिर फर्केर हेर्दा अमिर देखिनुहुन्छ भने अर्कोतिर फर्केर हेर्दा प्रतिष्ठित एवम् सफल व्यक्तित्वको रुपमा झल्किरहनुभएको छ । यसर्थ स्वामी विवेकानन्द भन्नुहुन्छ– “आफ्नो जीवनमा जोखिम लिनुहोस्, यदि तपाईं जित्नुभयो भने तपाई नेतृत्व गर्न सक्नुहुन्छ, र यदि तपाईं हार्नुभयो भने तपाईं मार्गदर्शन गर्न सक्नुहुन्छ ।”

प्रस्तुत नविन जुग्जाली

Leave a Reply