पर्वतको जलजला गाउँपालिका-७, मिलनचोकमा सकारात्मक सोच र तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। गणेशथान आमा समूह मिलनचोकको आयोजना र ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय बेनी शाखाको समन्वयमा एक दिनको लागि कार्यक्रम गरिएको हो ।
व्यस्त दैनिकीबाट ग्रसित बन्दै गैरहेको अवस्थामा स्थानीय सर्वसाधारणहरुलाई उत्प्रेरणा जगाई तनाव कम गरी सकारात्मक सोचको विकास गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको गणेशथान आमा समूहले जनाएको छ । शनिवार दिनभरजसो चलेको कार्यक्रम अवधिभरमा सकारात्मक सोच, तनाव व्यवस्थापन, जीवनपयोगी सिपहरु, जीवन जिउने कला, उत्प्रेरणा लगायतका विविध विषयहरुमा सहजीकरण गरिएको थियो ।
ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय धौलागिरिका प्रमुख साबित्रा दिदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको प्रशिक्षक रमण भट्टराईले सहजीकरण गर्नुभएको थियो । आमा समूहका अध्यक्ष सुनिता जिसी बरुवालको अध्यक्षता र सचिव जमुना आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय बेनी शाखा प्रमुख रिना दिदीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा स्थानीयवासी, व्यापारीहरु, समाजसेवी, आमा समूह, टोल विकास संस्था र सहकारीबाट गरी कुल ७५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रमले मानिसहरुमा हुने तनाव व्यवस्थापन कम गर्ने, उत्प्रेरणा जगाउने र सकारात्मक सोचको वृद्धि गरी जीवन जिउनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply