बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय पुरुष खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पोखराका विशाल बस्नेत र सरोज गुरुङको जोडी बिजयी हुनुभएको छ ।

बेनी नगरपालिका ब्याडमिन्टन संघले आयोजना गरेको १६ समूहले सहभागिता जनाएको प्रतियोगितामा बेनीका प्रवेश मगर र विशाल खड्काको जोडी उपबिजेता हुनुभयो । सुरेन्द्र हमाल–सन्दिप अधिकारी र इशान खड्का–विसन गुरुङको जोडीले तृतीय स्थानमा चित्त बुझाउनुभयो ।

बिजेता, उपबिजेता र तृतीयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ः रु. ४० हजार, ३० हजार र सात हजार पाँच सय÷सात हजार पाँच सयका दरले पुरस्कार प्राप्त गरेका बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यले बताउनुभयो ।

३२ टिम सहभागी म्याग्दी जिल्ला स्तरीय सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७ ताकमका अशोक खत्री र अनिष भण्डारीको जोडीले जितेका छन् । बेनीका सज्जन शाक्य र शिव फगामी उपबिजेता, बेनीका सोम घले–टिका पुर्जा र तातोपानीका केशव सिउथानी र आषिश छन्त्यालको जोडी तृतीय हुनुभयो । यो प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीयले ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ः रु. ३० हजार, १५ हजार र पाँच÷पाँच हजारका दरले नगद पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी ४८ टिम सहभागी म्याग्दी जिल्ला स्तरीय डि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा बेनीका गोपाल केसी (मोहन) र घनश्याम काउचाको जोडी बिजयी हुनुभएको छ । बेनीका केशव पौडेल र सुवास सुवेदीको जोडी दृतीय, कुशल खत्री–रियान श्रेष्ठ र शंकर पौडेल–तारा नगरकोटीको जोडी तृतीय हुनुभएको छ ।

बिजेता, उपबिजेता र तृतीयले ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ः २० हजार, १० हजार र चार÷चार हजारका दरले पुरस्कृत गरिएको बेनी नगर ब्याडमिन्टन संघका सचिव लोकेश पुनमगरले बताउनुभयो । विजया दशमी तथा दिपावली पर्वको अवसरमा आयोजना भएको प्रथम नगर कप ब्याडमिन्टन प्रतियोगिता दुई दिनसम्म बेनीको कालीपुल स्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सञ्चालन भएको थियो ।

बिजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, कार्यपालिकाका प्रवत्ता रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, ब्याडमिन्टन संघ म्याग्दीका अध्यक्ष हिमालय कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply