म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको पर्यटकीय स्थल टोड्केमा शनिबार ४५ औ विश्व पर्यटन दिवस मनाइएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा टे«कीङ व्यवसायी एशोशियसन (टान) गण्डकीले रघुगंगा गाउँपालिका–५ नम्बर वडा कार्यालय झिँको समन्वयमा पर्यटन प्रर्वद्धन कार्यक्रम गरेर दिवस मनाएको हो ।

दिवसको अवसरमा झिँका कलाकारहरुले मगर समुदायको मौलिक पुरख्यौली नृत्य प्रस्तुत गरेका थिए । यसैगरी मंगला गाउँपालिका–१ पूर्णगाउँको बासिन्दाहरुको टोलीले भजनकिर्तन प्रस्तुत गरेका थिए ।

रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमुञ्जाले टोड्केको जानकारी मुलक बुकलेट सार्वजनिक गर्नुभएको थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र रघुगंगा गाउँपालिकाले तयार पारेको बुकलेटमा टोड्को बारेमा विबिध जानकारीहरु समेटिएको छ । टोड्केको पर्यटन प्रर्वद्धनका लागि पर्यटन बोर्डले बृत्तचित्र समेत तयार पारेको छ ।

समुन्द्रि सतहदेखि २ हजार ४३० मिटरको उचाईमा रहेको टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन दुवै चंगा बनाउँछ । गुराँसे जंगलको टाकुरामा रहेको टोड्केमा बर्खामा हिमाली मुस्कान, चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ । कुहिरोले लुकामारी खेल्छ ।

जमिन भुइँफूलले रंगीन्छ । फागुन–चैतमा टोड्केको दायाँ र बाँया रहेको जङगलमा ढकमक्क फुल्ने लालीगुराँसको दृष्य मनमोहक हुन्छ । शरदयामको शान्त वातावरण, दूधे हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाउँछ । पुस–माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुन्छ। बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीले अति राम्रा देखिन्छन् हिमालहरू ।

गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमिका परिकारको स्वाद लिन सकिन्छ । वडा अध्यक्ष शेरमुञ्जाले टोड्केको पर्यटन विकासका लागि पूर्वाधार निर्माण र प्रर्वद्धनात्मक गतिबिधीमा जोड दिएको बताउनुभयो ।

टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । ६ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जना सम्म बास बस्न मिल्ने अट्याच बाथरुम सहितका कोठा र टेन्टको सुविधा छ । तालिम गोष्ठि सञ्चालन गर्न सेमिनार हल पनि छ ।

विद्युत, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ । स्वर्गद्धारी आश्रमको तिर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ । टोड्के घुमेर फर्कदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ ।

Leave a Reply