भनिन्छ ‘धन हुनेसँग मन हुँदैन,मन हुनेसँग धन हुँदैन ।’ तर, यो भनाइ सबै व्यक्तिहरुमा सत्य हुँदोरहेनछ भन्ने कुरा म्याग्दीका एक यूवाले आफ्नो कर्मद्धारा पुष्टि गरिदिनुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी संघका अध्यक्ष एवम् शैक्षिक तथा समाजिक संघ संस्थामा सक्रिय व्यक्तित्व अर्जुन पौडेलले आफ्नो जन्म दिनको अवसरमा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको शैक्षिक कोषमा ८ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

जन्मदिनको अवसरमा केक काट्ने, अन्य फजुल पैसा खर्च गर्ने परम्पराभन्दा आर्थिक अवस्था कमजोर भएकै कारण क्याम्पस तहको पढाईबाट बन्चित हुने, नियमित पठनपाठन सहितका कार्यहरुमा समस्या भएका विद्यार्थीलाई क्याम्पसतहसम्मको पढाइमा आर्थिक सहयोग गर्ने गरी स्थापना गरेको कोषमा पहिलो सहयोग गर्नुभएको हो ।

‘यो अभियानको पहिलो सहयोग गर्ने ब्यक्ति भएकोमा खुसी लागेको छ,गरिबीकै कारण क्याम्पसको पढाइ छेक्ने अवस्थाको अन्त्य गछौ’ अध्यक्ष पौडेलले भन्नुभयो ।

ज्ञानोदय मावि मौवाफाँटका शिक्षक समेत रहनुभएका पौडेलले विगतमा जन्मदिनको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका थुनुवालाई कर्नर पुस्तकालय, कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक सहयोग, बालगृहका बालबालिकालाई सहयोग सहित विभिन्न रचनात्मक कार्य समेत गर्नुभएको छ ।

क्याम्पसको स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत आर्थिक रूपले विपन्न, पिछडिएका क्षेत्रका, जेहेनदार वा दलित विद्यार्थीलाई सहयोग गर्ने गरी क्याम्पससँग सहकार्य गरी कार्यविधि बनाइने छ ।

क्याम्पस प्रमुख श्रीधर सुबेदीले पूर्वविद्यार्थीको अभियानमा ब्यक्तिगत तथा संस्थागत रुपमै सहयोग गरिने बताउँदै सामुदायिक क्याम्पस भएकाले आर्थिक अभावका कारण समस्यामा परेका विद्यार्थीलाई सहज हुने बताउनुभयो ।

गत भदौ महिना क्याम्पसमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको थियो । क्याम्पसमा विभिन्न तहमा करिब १२ सय विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply