नेपालीमा उखान छ-‘गर्नेलाई भन्दा हेर्नेलाई लाज’, ‘लाजको पसारो’, यो उखान निर्माणकार्य सुरु भएको ९ वर्ष वितिसक्दा पनि सम्पन्न नभएको म्याग्दीको बेनी अस्पतालमा ठ्याक्कै मेल खान्छ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको ५० सैयाको बेनी अस्पतालको भवन बि.स २०७२ सालमा ठेक्का सुरु गरेपनि सरकारले समयमै भुक्तानी नदिने र ठेकेदारको अटेर गर्दा भवन अलपत्र परेको छ ।

४ पटकसम्म म्याद थप्दा समेत झारा टार्ने काम भइहरको छ भने सरकारले समेत समयमै निर्माणकार्य अनुसार भुक्तानी दिन सकेको छैन । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष एवम् ठेकेदार रवीसिंह र उनका पार्टनर रविन जोशीले भुक्तानीमा सरकारी निकायबाट भइरहेको ढिलासुस्तीलाई कारण देखाइरहेका छन् भने सरकारी निकाय ठेकेदारको बाहना भन्दै पन्छिने गरेको छ ।

अहिले अस्पतालको अलपत्र भवनका कारण बिरामीले दैनिक सास्ती भोग्नुपरेको अस्पतालमा उपचारका लागि पुगेका बेनी नगरपालिका वडा नं ९ काउलेगौँडाका चिरञ्जीबि सुबेदीको भनाई छ । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो ।

हालसम्म कोरोना, नाकाबन्दी, आर्थिक मन्दी, मजदुरको अभाव लगायतका बाहना बनाएर ४ पटकसम्म म्याद थपिएपनि यसपटक अन्तिम भनिएपनि असार मसान्तसम्म सम्पन्न हुने अवस्था देखिदैन । बेनी अस्पतालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदीले ठेकेदारको अटेरीपन र सरकारको भुक्तानीको ढिलासुस्तीको असर भवनमा देखिएको बताउँदै अहिलेसम्मको हारगुहार सुनुवाइ नभएको बताउनुभयो ।

२० मंसिर २०७६ भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता रहेको अवस्थामा भवनको हालसम्म भौतिक पूर्वाधार ७३ प्रतिशत सम्पन्न भएको ठेकेदारले दावी गरेपनि भित्री संरचना सहित निर्माणसम्पन्न गर्न धेरै बाँकी रहेको र अहिलेकै जनशक्तीले अझै ३ बर्षसम्म पनि सम्पन्न गर्न सकिने अवस्था छैन ।

भवनलाई पुर्णता दिन ठेकेदारको बाँकी भुक्तानी निकासीसँगै निर्माणस्थलमा थप मजदुर परिचालनका लागि अस्पताल ब्यवस्थापन समितिले बारम्बार गरेको अनुरोधलाई भुक्तानी दिने निकाय र ठेकेदारले आँखामा पट्टि र कानमा तेल हालेर सुतेजस्तै गरेका छन् । बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी वार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन्।

Leave a Reply