अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत

On: September 30, 2024 12:18 PM
Follow Us:

म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमामा परम्परागत बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जौ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू भएको हो।

प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा एक करोड लागतको परियोजना सुरु भएको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिए।

परियोजनामार्फत झिँका दुई सय परिवार लाभान्वित हुनेछन्। तीन सय रोपनी क्षेत्रफल जमिनमा जौ र उवाखेती गरिने भएको छ। परियोजनामार्फत जौ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताए।

किसानलाई सूचीकरण गरी परम्परागत जौ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उनले बताए।

झिँका होटल र होमस्टेमा जौ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ। जौ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ । पोषिलो खाद्यान्न जौ र उवाको पछिल्लो समय खेती घटेको छ। आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ।

जौँ हिन्दू धर्मावलम्बीहरूको र जौको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ। जौको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ। उवालाई भुटेर खाजा खाने गरिन्छ। सुक्खा र खडेरी सहने जौ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो।

युरोपका देशमा जौबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ।