default

म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरमा आँखाका बिरामीहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरका नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा आगामी असोज १६, १७ र १८ गतेसम्म हुने शिविरको तयारी पूरा भएको छ ।

मोनाको साधारणसभालाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा आँखाका सबै प्रकारको उपचार त था मोतिबिन्दु सहित जटिल समस्याको पहिचान गरी थप उपचार गरिने शिविर संयोजक तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामीको भनाई छ ।

‘आखाँको समस्या भएका बिरामीहरूका लागि अवसर हो,विशेषज्ञ सेवा लिन बजार धाउनुपर्ने बिरामीलाई यहाँ आउन अनुरोध छ‘ कोषाध्यक्ष फगामीले भन्नुभयो ।

शिविर विहान ९ बजेदेखि सञ्चालन हुने छ । शिविरमा आउने बालबालिकालाई आँखा जोगाउने टिप्स सहित समस्याको पहिचान गरी थप उपचारमा सघाउने नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अम्मर बानियाँले बताउनुभयो ।

शिविरको प्रचारप्रसार तिब्र पारिएको छ । शिविरमा पश्चिम म्याग्दीका साथै छिमेकी बागलुङ जिल्लाबाट समेत बिरामी आउने गरी प्रचारप्रसार गरिएको मोना साधारणसभा तयारी स्थानीय उपसमितिका संयोजक याम थापले बताउनुभयो ।

मोनाको असोज १८ र १९ गते मुल संयोजक मीम पूर्जाको संयोजकत्वमा साधारणसभा गरिने छ । इन्द्रेणी पार्कमा उद्घाटन र बन्दसत्र मंगला शिक्षा क्याम्पसमा तय गरिएको छ । साधारणसभाका मुल संयोजक पूर्जाले शिविरबाट फाइदा लिन अनुरोध गर्नुभएको छ ।

Leave a Reply