म्याग्दीको बेनी नगरपालिका-८,कालिपुल बसपार्कमा निर्माणधिन अवस्थामा रहेको कृषि बजारमा पानी जमेको छ । सङ्घीय सरकारको विशेष अनुदानमा अघिल्लो बर्षदेखि सुरू भएको उक्त स्थान अहिले लामखुट्टेलाई फुल पार्ने र लार्भा हुर्कनका लागि उपयुक्त वातावरण बनेको छ ।

तीन करोडको लागतमा भवन निर्माण गर्न थालिएको स्थान आसपासको क्षेत्रमा जमेको पानीकै कारण संक्रमणको लागि उपयुक्त वातावरण बनेको छ। पानी जमेको र ग्यारेज तथा कवाडी सङ्कलन केन्द्रहरूमा रहेका पुराना टायर लामखुट्टेको सुरक्षित वासस्थानका मानिन्छ । यो वर्ष डेंगु नियन्त्रण गर्न नसक्नुमा खोज तथा नष्ट अभियानलाई समुदाय स्तरसम्म बुझाउन स्थानीय सरोकारवाला निकाय चुकेको देखिन्छ ।

डेंगुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथीलामखुट्टेले सार्ने र यो लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ। सदरमुकाम बेनीबजारमा रहेको वडा नं ७ र ८ मा विगतमा समुदायस्तरलाई वडाका जनप्रतिनिधिमार्फत गर्ने गरिएको सचेतनामुलक अभियानले यसपटक प्राथमिकता नपाउदाँ साउन, भदौ र असोजको दोस्रो सातासम्म बेनी अस्पतालमा १ सय ४० भन्दा बढी संक्रमति भेटिएका छन् ।

बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले सदरमुकाम बेनी डेंगुको उच्च जोखिममा रहेको बताउनुभयो।‘डेँगु संक्रमणसम्बन्धी जनचेतना कार्यक्रम आवश्यक छ, लामखुट्टेको बासस्थान खोज्ने अभियान सञ्चालनको आवश्यकता छ’ डा. पोख्रेलले भन्नुभयो । लामखुट्टे धेरै भएको ठाउँमै संक्रमण फैलिने भएकाले लामखुट्टे नष्ट गर्नुबाहेक विकल्प नभएको डा.पोख्रेललको भनाई छ ।

लामो समयदेखि जमेको पानीमा, पानीको ट्यांकी, गमला, टायर, ड्रम, प्लाष्टिक, कन्टेनरमा एकहप्ता वा त्यसभन्दा बढी समयसम्म पानी जम्यो भने लामखुट्टेले बासस्थान बनाएर फुल पार्ने गर्दछ ।

बेनीबजारमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि शहरमा बढी लामखुट्टे देखिने गर्छन् । बेनी नगरपालिकाको स्वास्थ्य शाखा, वडा कार्यालय सहित टोल विकास संस्थाका साथै सर्वसाधारणले आफ्नै घर आसपासका क्षेत्र सरसफाई गर्न सकेमा संक्रमतिको संख्या घटाउन सकिने चिकित्सकको भनाई छ ।

बेनी नगरपालिका सहित जिल्लाका अन्य स्थानीय तहका स्वास्थ्य शाखा तथा सरोकारवाला संघसंस्था र समुदायस्तरमा वडा कार्यालयबाट समेत संक्रमति भेटिएको स्थानमा खोज तथा नष्ट अभियान सञ्चालन गर्न सकेका छैनन् । म्याग्दीमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ र यो संख्या कात्तिक महिनासम्म ह्वात्तै उकालो लाग्ने अनुमान गरिएको छ ।

यसैबीच भदौ र असोज महिनामा डेंगुसँगै स्क्रब टाइफसको सङ्क्रमण समेत बढेपछि नियमित चेकजाच सहित अन्य विभिन्न रोगका बिरामीको समेत चाप बढेपछि बिरामीहरूलाई राख्नका लागि बेडको अभाव हुन थालेको छ ।

५० शैया क्षमताको अस्पतालमा ७७ बेड भएपनि उपचारका लागि आउने बिरामी मध्ये भाइरल ज्वरोका बिरामी अत्यधिक आउन थाले पछि बिरामीहरूलाई व्यवस्थापन गर्न समस्या हुने गरेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले बताउनुभयो । बेनी अस्पतालमा डेंगुका बिरामीलाई उच्च प्राथमिकता दिएर उपचार गरिरहेको छ ।

Leave a Reply