म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा सञ्चालित बृहत खेलकुद सप्ताहको समापन भएको छ । गएको बिहीबारदेखि सञ्चालित खेलकुद सप्ताह हिजो मङ्गलवार समापन गरिएको हो । खेलकुद सप्ताहको समापनसत्रलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले न्यू वेष्ट पोइन्ट विद्यालयले खेलकुदको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका छन् ।

उनले वेष्ट पोइन्टले लामो समयदेखि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गरेको बताउँदै खेलकुदको क्षेत्रमा न्यू वेष्ट पोइन्ट एक उदाहरणीय विद्यालय भएको बताए ।

बेनी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कमलप्रसाद ढकालले न्यू वेष्ट पोइन्ट विद्यालयले सञ्चालन गरेको कार्यक्रम हेर्दा आफू निकै प्रभावित भएको भन्दै खेलकुद क्षेत्रको विकासमा विद्यालयको योगदान सराह्रनीय रहेकोमा चर्चा गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख, प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार केसीले विद्यालयले शैक्षिक गतिविधिसँगै सञ्चालन गरेको खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताए ।

शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुकुमारी रोकाले विद्यालयले शैक्षिकसँगै खेलकुद क्षेत्रको विकासमा दिएको योगदानले विद्यार्थीहरुको मानसिक तथा शारिरीक विकासमा समेत सहयोग पुग्ने बताइन् ।

समापनमा विद्यार्थीहरुद्वारा मार्चपास, मसाल दौड, कवाज, ड्रिल, समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रतियोगितात्मक रुपमा कक्षा १ देखि कक्षा १२ सम्मलाई खेलकुदमा समावेश गरिएको खेल शिक्षक दिपेन राइले जानकारी दिए । १४ सय ७५ जना विद्यार्थीहरुमध्ये ८ सय विद्यार्थीहरुले कुनै न कुनै खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा फिल्ड, ट्र¥याकअन्तर्गत, कक्षा २ देखि १२ सम्मका विद्यार्थीकेन्द्रित तहगत रुपमा हाईजम्प, लङजम्प, त्रिपलजम्प, सटपुट, ज्याभलिन थ्रो, १ सय, २ सय, ४ सय, ८ सय १५ सय र ३ हजार मिटरका दौड, रिलेदौड, भलिबल, चेस र मार्सल आर्टका तेक्वान्दो र कराँतेका खेलहरु सञ्चालन भएको थियो ।

वेष्ट पोइन्ट एजुकेशन फाउन्डेशन म्याग्दी प्रालिका अध्यक्ष यज्जनलाल शाक्यको अध्यक्षतामा, विद्यालयका प्रिन्सिपल डीबी दाहालको स्वागत र भाइस प्रिन्सिपल कृष्णबहादुर जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कक्षा १२ का बर्खा थापाले मन्तव्य व्यक्त गरेकी थिइन् ।

Leave a Reply