म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमी तथा शुभदिपावलीको अवसर पारेर विद्यालयद्वारा आयोजित विभिन्न कार्यक्रमहरुको समापन गरिएको हो ।

मङ्गलवार विद्यालय प्राङ्गणमा अभिभावक भेला, सामाजिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक, पुरस्कार वितरण तथा शुभकामना आदानप्रदानलगायत कार्यक्रमहरु गरिएको विद्यालयले जनाएको छ । दसैँलक्षित कार्यक्रमअन्तर्गत सदनस्तरीय छात्रछात्रा भलिबल, छेलो फ्याक्ने प्रतियोगिता, प्राविस्तरीय इटिङ बिस्कुट, कक्षा १–६ को दौड प्रतियोगिता र प्राविस्तरीय नम्बर अनुमान प्रतियोगिताहरु सञ्चालन भएका थिए ।

विद्यालयको सदनस्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा निलो सदन प्रथम र रातो सदन द्वितीय भई १५ सय रुपैयाँको दरले नगदसहित मेडलले पुरस्कृत गरिएको छ ।

उक्त पुरस्कार विद्यालय व्यवस्थापन समितिका सदस्य खड्गप्रसाद श्रेष्ठले प्रायोजन गर्नुभएको थियो । यसैगरी छेलो फ्याँक्ने प्रतियोगितामा किशोर दर्जी प्रथम भएका छन्भने प्राविस्तरीय इटिङ बिस्कुट प्रतियोगिता कक्षा ४ का सनम परियारले जितेका छन् । त्यस्तै कक्षा १ देखि ६ सम्म दौड प्रतियोगिता र नम्बर गेसिङ प्रतियोगितामा सहभागी भई विजेताहरुलाई पनि मेडलसहित पुरस्कृत गरिएको छ ।

त्यसैगरी जनकल्याण मावि अक्षयकोषबाट कक्षा ५ र ८ मा उत्कृष्ट अङ्क ल्याउने प्रथम र द्वितीय भएका विद्यार्थीहरुलाई क्रमशः दुईहजार रुपैयाँ र १५ सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो । पुरस्कार पाउनेमा कक्षा ५ मा प्रथम सौरभ सुवेदी, द्वितीय प्रकृति हमाल, कक्षा ८ मा आयुष्मा सुवेदी प्रथम र दिप्सना हमाल द्वितीय रहेका छन् ।

उक्त कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा सहभागी भई उत्कृष्ट अङ्क ल्याउने कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा डिम्ब आधारभूत विद्यालय चिप्लेटीका प्रधानाध्यापक नारायण पौडेलले आफ्नो विद्यालयबाट उत्पादित विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई प्रोत्सानस्वरुप स्टेशनरी प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँले सामाजिक परीक्षण, विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले शैक्षिक र लेखा शिक्षक चिरञ्जीवी सुवेदीले गएको आर्थिक वर्ष २०८०÷०८१ को आयव्यसहितको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले पछिल्लो समय विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गैरहेकाले विद्यार्थीको आकर्षण बढाउन सबै पक्षबाट उचित सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

विद्यालयका भूपू अध्यक्ष एवं धनेश्वरी–तारानाथ स्मृति अक्षयकोषका संस्थापक माधवप्रसाद रेग्मी र पूर्व अध्यक्ष एवं जनकल्याण मावि अक्षयकोषका संस्थापक अध्यक्ष रामप्रसाद सुवेदीले विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्न तथा विद्यार्थीको आकर्षण बढाउन आफूहरुले विभिन्न पहलको साथै अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।

जगन्नाथ आधारभूत विद्यालय नयाँगाउँका प्रधानाध्यापक गणेश विष्टले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, सहायक प्रअ राजु मिजारको स्वागत र शिक्षक गीता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply