म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ७ बिममा रहेको किसानी मावि तथा प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापना गरिएको छ ।
मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि ‘किसानी सञ्जीवनी अक्षयकोष’ स्थापना भएको घोषणा गरिएको हो । प्राविधिक शिक्षालयमा नेपालका जुनसुकै ठाउँबाट अध्ययन गर्न आउने गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने मुख्य उद्देश्य राखेर अक्षयकोष स्थापना गर्न लागिएको हो ।
स्थानीय समाजसेवी, बुद्धिजीवि, आमा समुह, युवा क्लवका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, तथा विद्यालयका शिक्षकहरुको उपस्थितिमा अक्षयकोष संचालनका लागि एक समिति पनि गठन गरिएको छ ।
समितिको अध्यक्षमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका कलिप्रसाद जुग्जाली, सदस्यहरुमा देव पुन, टुकमान जुग्जाली, टक बहादुर पुन, गीता घर्ति पाईजा, दलमाया पाईजा, जमान बहादुर खत्री र टेक बहादुर पुन र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक जंग बहादुर गर्बुजा रहनुभएको छ ।
त्यस्तै प्रचार प्रसार समितिमा शिक्षकहरु प्रेम बहादुर जुग्जाली, खिम बहादुर जुग्जाली (खिमन) र विष्णु सुवेदी रहनुभएको छ । २०६८ सालबाट सुरु भएको प्राविधिक शिक्षालयमा हाल ३ वर्षे पशु विज्ञान, ३ वर्षे बाली विज्ञान र १८ महिने जेटिए संचालन भईरहेको छ ।
शिक्षालयमा म्याग्दी सहित देशभरका जिल्लाहरु १५० जना विद्यार्थीहरु हाल अध्ययनरत छन । प्राविधिक शिक्षा पढ्न इच्छुक रहेको तर आर्थिक अभावका कारण पढाईबाट वञ्चित हुनुपरेको विद्यार्थीहरुलाई सहयोग गर्ने मुख्य लक्ष्य राखेर किसानी सञ्जीवनी अक्षयकोष स्थापना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक जंग बहादुर गर्वुजाले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष, तथा भूपू प्रधान पञ्च समाजसेवी रत्न प्रसाद पुन, भूपू प्रधानपञ्च कट बहादुर जुग्जाली, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा समाजसेवी पलविर जुग्जाली, वडा अध्यक्ष टक बहादुर पुन, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष तथा समाजसेवी छक प्रसाद पाईजा, शिक्षक अभिभावक संघका अध्यक्ष हर्कमान जुग्जाली लगायतले विद्यालयमा अक्षयकोष स्थापनाहुनुले विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नयनमा सघाउ पु¥याउने बताउदै कोषमा रकम सहयोग गर्न सम्पूर्ण शिक्षा प्रेमी मनकारी, समाजसेवी महानुभावहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
अक्षयकोषमा बिम घरभई हाल युकेमा रहनुभएका समाजसेवी दल जुग्जाली र कृष्ण जुग्जालीको परिवारबाट ५ लाख र समाजसेवी छकप्रसाद पाईजाको परिवारबाट १ लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
गुणस्तरी शिक्षा प्राप्तीका लागि उपर्युक्त वातावरण, प्रयाप्त भौतिक संरचना, छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रावासको व्यवस्था, दक्ष र अनुभवि प्रशिक्षकको व्यवस्था, पढ्दै, सिक्दै र कमाउदै कार्यक्रम समेत लागु भएकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि किसानी मावि, किसानी प्राविधिक शिक्षालय पहिलो रोजाईमा पर्दै गएको र विद्यार्थी भर्नादर पनि वृद्धि हुँदै आएको प्राविधिक शिक्षा संयोजक पवित्रा आले मगरको भनाई छ ।
किसानी माविले स्थापना गरेको शैक्षिक कोषमा स्वेच्छिक रुपमा आर्थिक सहयोग प्रदान गर्न देश विदेशमा रहेका बिम बासी, विद्यालयका अभिभावक, पूर्व विद्यार्थी तथा सम्पूर्ण समाजसेवी मनकारी महानुभावलाई विद्यालयले आग्रह गरेको छ ।