जोमसोम / आश्विन कृष्णपक्ष पितृपक्ष (सोहृ श्राद्ध)को अन्तिम दिन औँसीमा मुस्ताङको कागवेनीमा पितृश्राद्ध तथा तर्पण गर्नेको भीड लाग्यो । मुक्तिनाथ विकास समितिको अभिलेख अनुसार बुधबार करिव ४५ हजार भक्तालुहरुले कागवेनीमा आश्विन कृष्णपक्ष पितृपक्षको औंसी श्राद्ध गरी मुक्तिनाथ उक्लेर स्नान गरे ।

‘प्रहरीको रेकर्ड अनुसार सोह्र श्राद्धको अन्तिम दिन औँसी श्राद्ध गर्न साना ठूला गरी ५ हजार सवारी साधन कागवेनी भित्रिए। ती सवारी साधनमा औषत ९ जना मान्छे रहेको अनुमान गर्दा ४५ हजारबढी भक्तजनले कागवेनीमा पितृश्राद्ध गरी मुक्तिनाथ स्नान गरे,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले भने, ‘यसपालि हामीले मुक्तिनाथका १ सय ८ धारा र कुण्ड स्नान गरेका सबै यात्रुका लागि तातो चिनीपानी खुवायौं ।’

प्रजिअ भुषालले थपे, ‘मुक्तिनाथ विकास समितिमा बजेट पनि रहेछ, सोही बजेटबाट मुक्तिनाथको चिसो पानीमा नुहाएका यात्रुलाई चिसो र लेकलाग्ने समस्याबाट जोगाउन तातो चिनीपानी र कालो चिया खुवाउने ब्यवस्था मिलाइएको हो ।ु

प्राचिनकालदेखि पितृपक्ष र सोह्र श्राद्धका समयमा भगवान विष्णुको शरीरबाट बगेका पसिना (मुक्तिनाथको पानी) र दामोदरबाट बग्दै आएको कालीगण्डकीको संगमस्थल कागवेनीमा पितृकार्य (श्राद्ध) गरेमा दिवंगत पितृहरुको मोक्ष हुने गहिरो जनविश्वास छ । कागवेनीमा मात्र होइन, सोह्रश्राद्ध सुरु भएदेखि नै हिन्दुधर्मालम्बीहरुको पवित्र नदी कालीगण्डकी नदीको किनारामा दैनिक पितृलाई श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ ।

बुधवार बेनीस्थित कालीगण्डकी किनारामा आ–आफ्ना गोत्रिय दाजुभाईहरुले पितृकार्य (श्राद्ध) दिएका थिए । घरमा भन्दा कालीगण्डकीमा सय गुणा र कागवेनीमा पुगी श्राद्ध गर्दा हजार गुणाबढी पृतात्मालाई मोक्ष प्राप्ति हुने जनविश्वास रहेकोले सदियौं देखि आश्विन कृष्ण पक्षमारपितृपक्षमा (सोह्र श्राद्धमा) गर्न कागवेनी र मुक्तिनाथमा पुगेर पितृलाई पिण्डपानी चढाउने चलन छ ।

‘पितृ पक्षको श्राद्ध घरमा भन्दा खोलामा, खोलाभन्दा नदी र नदीमा पनि कालीगण्डकी अझ कागवेनी पुगेर पितृलाई पिण्डपानी अर्पण गरे दिंवंगत पितृहरुको आत्मले मोक्ष पाउने विश्वास छ,’ मुक्तिनाथ मन्दीरका पूर्व पुजारी तथा म्याग्दी क्याम्पसका पूर्व सहायक प्राध्यापक नारायण सुवेदीले भने, ‘मैले पनि पितृकार्य सधैँ कालीगण्डकी तटमा पुगी गर्ने गरेको छु ।’

सडक मार्गले यातायात सहज भएपछि कागवेनीमा पितृलाई श्राद्धको तिथि मिलाएर मुस्ताङको भौगोलिक वातारण हेर्न, मुक्तिनाथ मन्दीरको दर्शन गर्न र शालग्राम पहाड तथा दामोदरकुण्ड नुहाउन आउने तिर्थालु थप बढेका छन् ।

मुक्तिनाथ मन्दिर बौद्ध तथा हिन्दु धर्मालम्वीको साझा तीर्थस्थलको रुपमा प्रख्यात रहेको छ । यहाँको मन्दिरमा हिन्दु समुदायका पुरोहित र बौद्ध समुदायका लामा तथा आनीहरुले मन्दिरमा पूजा अर्चना र रेखदेख गर्दै आएका छन् ।

पितृपक्ष सुरु भएसँगै मनसुन सुरु भएकोले कागवेनी पितृलाई पीण्डपानी गर्न हिँडेका तिर्थयात्रीलाई बेनी–जोमसोम सडकको यात्रा कष्टकर भएको छ । देशको पूर्व र पश्चिमबाट पोखरा हुँदै मुस्ताङ प्रवेश गर्ने नारायणघाट–मुग्लिङ र काठमाण्डौ–मुग्लिङ सडकमा बाढीपहिरोले तहस नहस बनाएकोले टाढाबाट भने यस वर्ष कागवनीमा पितृकार्य गर्न आउनेहरु रोकिए ।

Leave a Reply