---Advertisement---

राखु भगवती कोत मन्दिरमा देवी भागवत महायज्ञको तयारी पुरा

On: October 2, 2024 11:02 PM
Follow Us:
रघुगंगा गाउँपालिका-२ मा अवस्थित राखु भगवती कोत मन्दिरमा हुन लागेको देवी भागवत महायज्ञको तयारी पुरा भएको छ। धार्मिक ऐतिहासिक स्थलको रुपमा परिचित भगवती कोतको धार्मिक , पर्यटकीय र साँस्कृतिक महत्व उजागर गर्नुका साथै भगवती कोत मन्दिरमा रहेका मठ मन्दिरहरुमा दैनिक धुपवत्ति, पुजाआठको प्रवन्ध मिलाउन अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो ।
असोज १७ गते घटस्थापनादेखि २३ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी पुरा भएको महायज्ञका मुल संयोजक देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । महायज्ञमा पण्डित कमलनयन गौतम र भिमलाल भट्टराईले संगीतमय प्रवचन दिनुहुनेछ । महायज्ञमा विभिन्न साँस्कृतिक झाँकी समेत प्रदर्शन गरिनेछ । भगवती कोत मन्दिर परिसरमा हुने महायज्ञको प्रचार प्रसार, मञ्च व्यवस्थापन संगै आन्तरिक तयारीलाई समेत पुरा भएको छ।
१७ औँ शताब्दीको विरासतसँग इतिहास जोडिएको भगवती कोत मन्दिर तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको छ । यो मन्दिरको ईतिहाँस नेपाल एकिकरण हुनु अघिको तत्कालिन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ सताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसंग जोडिएको पाईन्छ ।
१५ आँै सताब्दीको अन्त्य र १६ औँ सताब्दीको सुरुवातको समयमा पर्वतका राजा प्रतापिनारायण मल्लले पाल्पाका राजा मुकुन्द शेनको छोरी विवाह गरि ल्याउँदा माझका देवीलाई बागलुङ चौरमा देविको स्थापना गरेका कारण केहि कालखण्डपछि राखुमा भगवतीको मन्दिर स्थापना भएको एकिन गर्न सकिन्छ ।
पिप्ले र भगवतीको शिरमा रहेको रुईसेमा भुरे टाकुरेका राजालाई पर्वते राजाहरुले आफ्नो अधिनमा लिएपछि यस क्षेत्रलाई पनि आफ्नो अधिनमा प्रशासन चलाएको पाइन्छ । त्यो समयमा उनीहरुले आफ्नो हातहतियार राख्न र आफ्नो राज्यलाई शत्रुबाट सुरक्षा गर्नको लागि कोत बनाएको ईतिहाँस भेटिन्छ । यसरी कोत बनाएको उक्त ठाउँलाई थापाकोट भनिन्छ । अहिले यस ठाउँलाई थामकोटको नामले पनि चिनिन्छ ।
यस क्षेत्रको प्राचिनकालिन ईतिहाँसलाई हेर्दा रुईसे दरबारमा रहेको तत्कालिन राजाले बनाएका दरबारको भग्नावशेष, राजाको हात्ति बाँध्ने गह्रो, पानी खाने कुवा र पधेरो, ओखल, आराम गर्ने थलोको रुपमा राजाको विसौनी, राजाको चौतारो, गोठाला र हेराला बस्ने ढुंगा जस्ता नामकरण गरिएका ठाउँहरुले थप पुष्टि गरेको पाईन्छ ।
तत्कालिन राजाको बासस्थान तथा सुविधाको लागि र उनीहरुको सुरक्षालाई मध्यनजर गर्दै कोतलाई थापाकोटबाट रामकोटमा सारिएको थियो । उक्त रामकोटमा पनि आगलागी भएपछि त्यस ठाउँको नाम डढेकोट राखिएको छ भने भगवती मन्दिरलाई अहिले रहेको स्थान भोर्लाकोटमा सारिएको थियो ।