पर्वतको जलजला गाउँपालिका-३,वारीबेनीमा अवस्थित न्यु होराइजन आवासीय माविले विद्यार्थीलाई समयअनुकुल व्यवहारिक शिक्षा दिन विभिन्न कार्यक्रम गदैं आइरहेको छ ।

विद्यार्थीलाई किताबी ज्ञानबाहेक व्यवहारिक ज्ञान दिन विद्यालयले गर्ने विभिन्न प्रकारका अतिरिक्त कार्यक्रम अन्तरगत बुधबार हिन्दूहरूको महान् र ठूलो चाड दसैंको महत्वका बारेमा सैद्धानितक जानकारी दिदैं दशैंमा गरिने सबै क्रियाकलाप शिक्षकमार्फत विद्यार्थीलाई जानकारी गराइएको छ ।

दशैंका अवसरमा राखिने जमराको महत्त्वका साथै दशैंका समग्र कार्य र संस्कारहरू बुझाउने उद्देश्यले विद्यार्थीको सहभागितामा टिका ग्रहण सहित विविध जानकारी गराइएको विद्यालयका प्रिन्सिपल अरुणकुमार चौधरीले बताउनुभयो ।

‘विद्यार्थीलाई जमरा राख्नेदेखि टिकाग्रहणसम्मका सबै विधिमा सहभागि बनाइयो, दशैंको अरू संस्कार पनि विद्यालयले सिकाएको छ’ प्रिन्सिपल चौधरीले भन्नुभयो । नेपालका चाडपर्व तथा यहाँको कला संस्कृति र परम्पराको बारेमा जानकारी दिने गरिएको उहाँको भनाई छ ।

दसैमा ग्रहण गरिने रातो, सेतो टीका तथा पहेंलो जमरा सिउरिने चलन, टीका र जमराको दसैंसँगको जोडिएको महत्व, घटस्थापनाको दिन विधिपूर्वक राखिने जमराका साथै दसैंमा चंगा उडाएर रमाइलो गर्ने परम्परा,लिंगे र रोटे पिङको महत्व लगायतका बारेमा विद्यार्थीलाई कक्षामै जानकारी दिइएको सञ्चालक समितिका अध्यक्ष दलबहादुर जिसीले बताउनुभयो ।

‘रातोटीका र जमरा लगाएर विद्यार्थीलाई दसैंको शुभकामना दिइयो, हामीले हरेक पर्वहरूका बारेमा विद्यार्थीलाई जानकारी दिन्छौ’ अध्यक्ष जिसीले भन्नुभयो ।

नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा विद्यार्थीलाई सानैदेखि जानकारी होस् भन्ने उद्देश्यले नेपालका सांस्कृतिक पर्व तथा अवसरहरूमा यस्ता अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्ने गरिएको विद्यालयले जनाएको छ ।

Leave a Reply