९ बर्षदेखि मलेसियामा हराएका म्याग्दीको धवलागिरी गाउँपालिका-४,का लिलप्रसाद घर्तीलाई खोज तथा उद्धारपछि घर फर्काउन सफल भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसिया लामो समयदेखि परिवारको सम्पर्क बाहिर रहेका म्याग्देलीको खोजीकार्यमा जुटेको छ ।

लिलप्रसादको खोजीकार्यपछि अहिले मोना मलेसियालाई लामो समयदेखि हराइरहेका म्याग्देलीको खोजीकार्यका लागि धमाधम अनुरोध आउन थालेपछि खोज तथा उद्धारका लागि आवश्यक विवरण मागेको छ।

पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका म्याग्देली परिवारबाटै सम्पर्कविहिन भएर बसेकाको परिवारलाई मोनाको सम्पर्कमा आउन अनुरोधसहित एक सूचना समेत जारी गरिएको मोना मलेसियाका महासचिव केशबहादुर मगरले बताउनुभयो।

‘परिवारका सदस्यलाई परिचय खुल्ने विवरण पठाउन अनुरोध गर्दछौ,धेरैजसो गैरकानुनी रूपमा बसेकाहरू समस्यामा हुनुहुन्छ’ महासचिव मगरले भन्नुभयो। विगत २१, २२ बर्षदेखि मलेसियामा आएर घरपरिवारसँग सम्पर्कमा नभएकाहरूको जानकारी आएपनि फोटो, नागरिकता वा पासर्पोट तथा पठाउने कम्पनीको विवरणहरु पठाएपछि खोजीकार्यमा सहज हुने मोना मलेसियाले जनाएको छ ।

वैदेशिक रोजगारीको लागि मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य भएकाले यहाँ आउने म्याग्देलीलाई मोनाको सम्पर्कमा आएमा समस्या पर्दा वा परिवारको अनुरोधमा खोजीकार्यमा समेत सहज हुने अध्यक्ष पूर्ण रोकामगरको भनाई छ ।

‘हराएकाहरू जेलभित्र वा दुर्घटनामा परेको पनि हुनसक्छ, यतै विदेशीसँग विवाह गरेर बस्ने गरेका छन्,त्यहीँ घरजम गरेर बस्नेहरु नेपालमा सम्पर्कविहिन हुने गरेको देखिन्छ’ अध्यक्ष रोकाले भन्नुभयो ।

मलेसिया सरकारले भगौडा तथा गैरकानुनी कामदारलाई पक्राउ गरी राख्ने भएकाले कोलालम्पुरस्थित नेपाली दूतावाससँग समन्वय गरी उद्धार वा जेलमा भए मुक्त गरिदिन र हराएका व्यक्तिको खोजीमा समन्वय गर्ने सकिने अध्यक्ष रोकाको भनाई छ ।

मोनामार्फत प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)सँग समेत समन्वय गरी थप सहज बनाउन सकिने भएकाले मलेसियाबाट परिवारको सम्पर्कमा नभएकालाई मोना मलेसियाको फेसबुक पेजमा रहेका सूचनाका नम्बरहरुमा सम्पर्क गनर्् समेत अनुरोध गरिएको छ । मोना मलेसियामा रहेका नेपाली संघसंस्थामा सक्रिय संस्था मानिन्छ ।

Leave a Reply