नेपाल भाषा: मंका खलअन्तर्गत रहेको युवाहरुको संस्था ल्याम्ह पुच बेनीबजार म्याग्दीको आयोजनामा बेनीमा कालरात्री विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको आठौं दिन कालरात्रीको अवसरमा बेनीको कोत मन्दिरमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

यसैक्रममा बिहीबार ल्याम्ह पुचले पत्रकार सम्मेलनको आयोजना गरेर कालरात्रीको दिन सञ्चालन हुने विविध सांस्कृतिक कार्यक्रमको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा ल्याम्ह पुच म्याग्दीका अध्यक्ष जेनेश श्रेष्ठले दसैँको अष्टमीका दिन कालरात्रीमा हुने परम्परागत मालश्री गायनको साथै लोक, संस्कृतिका नाचगानको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

ल्याम्ह पुचले आउँदो असोज २४ गते रातमा कालरात्री पर्वलाई जोगाउन विभिन्न बाजागाजाको धुनमा मालश्री गाउने, दसैँको झल्को दर्शाउने गीतसङ्गीतहरु प्रस्तुत गर्ने र जातीय भेषभूषमा नाचगान आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

नेवार समुदायका युवाहरु आबद्ध संस्थाले कालरात्री विशेष कार्यक्रमको आयोजना गरेको भए पनि अन्य समुदायबाट पनि उनीहरुको जातीय पहिचान झल्कने र भेषभूषामा नृत्य प्रस्तुतको अवसर प्रदान गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ ।

कालरात्री पर्वको विशेष कार्यक्रम बेनी नगरपालिका वडानम्बर ७ र ८ को समन्वय तथा सहयोगमा गर्न लागिएको बताइएको छ । परम्परागत रुपमा बेनीको कोत मन्दिरमा हुँदै आएको गतिविधिहरु ओझेलमा पर्दै जान थालेपछि त्यसको संरक्षण र प्रचारप्रसारका लागि कार्यक्रम आयोजना गरिएको नेपाल भाषा ः मंका खलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले बताउनुभयो ।

मंका खलले पछिल्लो समय युवा पुस्ता र बालबालिकाहरुलाई प्राथमिकता दिएर कला, संस्कृति र भेषभूषाको प्रदर्शनी तथा संरक्षणलगायत कार्यक्रमहरुमा सहजीकरण गर्दै आइरहेको छ ।

नेपाल भाषा ः मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले म्याग्दीको बेनीमा नेवार समुदायले वर्षेनाच प्रदर्शनीसँगै जिल्लामा हुने विविध गतिविधिमा सहभागितासहित कला, संस्कृतिको संरक्षणमा जोड दिइएको बताउनुभयो । मंका खलका उपाध्यक्ष कुविरकुमार श्रेष्ठले बेनीको कोतमा परम्परागत रुपमा हुँदै आइरहेको परम्परा जोगाउन कार्यक्रमबाट जोड दिइने बताउनुभयो ।

जिल्लाको कला, लोक, संस्कृति र भेषभूषा अमूल्य सम्पत्ति भएकाले तिनको जगेर्नाको लागि बेनी नगरपालिकाले नगर सङ्ग्रहालय बनाउनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको भनाइ छ । उहाँले म्याग्दीको चर्चित थालीनाच र सालैजो भाकालाई ब्राण्डिङ गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply