म्याग्दीबाट फुटबल क्षेत्रमा पहिलो पटक आफ्नै जिल्लाको व्यक्ति एन्फाबाट लाइसन्स प्राप्त रेफ्री पाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले गण्डकी प्रदेशको पोखरामा आयोजना गरेको रेफ्री लेभल–४ कोर्ष उत्तिर्ण गरेर रघुगंगा गाउँपालिका–२ भगवतीका सागर परियार(पोग्वा)ले जिल्लाकै पहिलो रेफ्री बन्नु भएको हो ।

गएको सन २०२४ को अप्रिल २१–२७ सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना गरिएको रेफ्री कोर्षका लागि सहभागी हुनुभएका सागरले कोर्षमा भएका हरेक इभेन्टमा सफलता हासिल गरे सँगै एन्फाको रेफ्री हुन सफल हुनुभएको हो।

एन्फा र गण्डकी प्रदेश फुटबल संघको संयुक्त आयोजनामा आयोजना भएको उक्त कोर्षमा सहभागी भएका प्रदेशभरका फुटबल क्षेत्रका व्यक्तिहरुको सहभागितामा भएको उक्त कोर्ष पछि लिइएको परीक्षामा उत्तिर्ण भएपछि परियारलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङले हस्ताक्षर गरेको प्रमाणपत्र प्राप्त गर्नुभएका परियार स्थानीय खेलमा रेफ्रीको भुमिका निर्वाह गर्नुका साथै अहिले पनि आवश्यकता अनुसार विभिन्न क्लबबाट फुटबल खेल्दै पनि आउनुभएको छ ।

फुटबल खेलमा पाउल पोग्वाका फ्यान सागरलाई साथीभाइले पनि पोग्वा नै भन्ने गर्दछन् । सबैले मलाई पोग्वा नै भन्छन्, साथीहरुले मायाँ गरेर दिएको नाम हो मलाइ पनि खुसी नै लाग्छ–सागरले भन्नुभयो । म्याग्दीको एभरग्रिन, मनसुन, कालिपुल, उत्साही समूहबाट खेल्नु भएका परियार अहिले भने पर्वत बेनीको बिकु फ्यामीलीबाट खेल्दै पनि आउनु भएको छ।

पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा रहेको बिकु फ्यामीलीबाट फुटबल खेल्दै आउनु भएका परियार म्याग्दी जिल्लाका स्थायी बासिन्दा मध्ये एन्फाबाट प्रमाणपत्र प्राप्त पहिलो रेफ्री बन्नु भएको अखिल नेपाल फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले जानकारी दिनुभयो ।

फुटबल संघले जिल्लामा खेलाडीसँगै ब्यवसायिक रेफ्रीका लागि समेत प्रशिक्षण सहित अनुकुल वातावरण बनाइरहेको अध्यक्ष कुमार बानियाँको भनाई छ ।

Adv

बेनीको प्रकाश माध्यमिक विद्यालयबाट अध्ययन गर्नुभएका परियार अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागीता जनाउँदै आउनु भएको थियो । प्रकाश माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्दा विद्यालयको तर्फबाट विभिन्न प्रतियोगितामा सहभागीता जनाउनु भएको विद्यालयले जनाएको छ ।

जिल्ला भित्र हुने आयोजना हुने फुटबल प्रतियोगिताहरुमा एन्फाको लोगो लगाएर फुटबलमा अम्पायरीङ गर्ने एक जना मात्रै भए पनि पाएकोमा जिल्लाकै लागि गौरब भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश खत्रीले बताउनुभयो ।

जिल्ला फुटबल संघको पहलकदमीमा एन्फाले आयोजना गरेको कोर्षमा सहभागी भई उत्तिर्ण भएर जिल्लामै पहिलो पटक लाइसन्स प्राप्त रेफ्री भएपछि अन्य खेलाडीहरुलाई पनि त्यो मार्गमा लाग्न सहज हुने जिल्ला फुटबल संघ म्याग्दीले जनाएको छ ।

Leave a Reply