जिल्ला हुलाक कार्यालय म्याग्दीबाट एक सेवाग्राहीले बागलुङको गलकोटमा रहेका आफन्तलाई कोशेलीको रुपमा गन्द्रुक पठाए । अर्का सेवाग्राहीले कुरियर गरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा हुलाकबाटै मोवाइल फोन कुरियर गरे ।

वि.सं. १९३५ मा नेपालमा हुलाकघरको स्थापना पछि एक ठाउँको खबर अर्को ठाउँमा पु–याउने भरपर्दो माध्यमको रुपमा रहेको हुलाकसेवा अहिले घरको किचनमा पाक्ने परिकारदेखि ब्यक्तिगत प्रयोजनका लागि आवश्यक पर्ने साम्रागी ढुवानी गर्ने माध्यम बनेको छ ।

जिल्ला हुलाक कार्यालयबाट दैनिकजसो चिठीपत्र सहित नेपाल सरकारले गैरकानुनी घोषित नगरेको बस्तुहरू आदानप्रदान हुने गरेको छ ।

पछिल्लो समय म्याग्दीको हुलाक कार्यालयले रुपान्तरित सेवा अन्तरगत इ–कमर्सको अवधारणाको प्रयोगसँगै सेवाग्राहीको चाप बढेको कार्यालय प्रमुख रमेश अधिकारीले बताउनुभयो ।

ब्यक्तिगत चिठी बाहेक सरकारी चिठ्ठीपत्र,अदालती कागजपत्र तथा विदेश जाने युवाहरुको कागजपत्रहरुको ओसार–पसार बाहेक अन्य सेवा विस्तार भएपछि सेवाग्राहीको आर्कषण बढेको प्रमुख अधिकारीको भनाई छ ।

कार्यालय प्रमुख अधिकारीका अनुसार नेपाल सरकारले हुलाकको संरचना परिर्वतन गर्ने निर्णयको देशभर पहिलोपटक म्याग्दीमा कार्यान्वयन भएको थियो ।

म्याग्दीको बेनी नगरपालिका बाहेक ५ स्थानीय तहमा २४ घण्टामै एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन संरचना परिवर्तन गरिएको प्रमुख अधिकारीको भनाई छ ।

गत बर्ष म्याग्दीबाट चिठीपत्र सहित पार्सल गरी २५ हजार सेवाग्राहीले सेवा लिएको सूचना अधिकारी सम्झना भण्डारी बानियाँको भनाई छ ।

जिल्ला हुलाक कार्यालयले छिमेकी बागलुङ, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको ताकमसम्म सवारीसाधनकै प्रयोग गरी सेवा दिने गरेको छ । हाल म्याग्दीमा अतिरिक्त हुलाक २९ वटा छन् भने हुलाकी १ र हल्कारा २६ जना कार्यरत छन् ।

Leave a Reply