गैरसरकारी संस्था मिलन म्याग्दीको सोमबार सदरमुकाम बेनीमा २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष दिलमाया बिटालुले प्रस्तावसहितको भावी कार्यक्रम, सचिव ज्ञानुकुमारी बानियाँ केसीले प्रगति र कोषाध्यक्ष मिना राम्जालीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ ।

वि.सं. २०५६ सालमा स्थापना भएको मिलन म्याग्दीले जिल्लामा हालसम्म झोलुङ्गे पुलको क्षेत्रमा काम गर्दै आइरहेको जनाएको छ । यसअघि वन, वातावरण तथा जलवायु परिवर्तन, वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रमअन्तर्गत समुदायस्तरमा सुधारिएको चुल्हो निर्माण, सुरक्षित मातृत्व, सुआहारा कार्यक्रममार्फत पोषण तथा स्वास्थ्य, लैङ्गिक समानता एवं समावेशीकरण, जिविकोपार्जन, सचेतनालगायत कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

यसका साथै सरसफाइ, कृषि तथा पशु सम्बन्धी उत्पादन, तरकारी खेती, राष्ट्रपति महिला उत्थानमार्फत महिलाहरुलाई विभिन्न किसिमका सिपमूलक तालिमहरु, युवा स्वरोजगार, सक्षम महिला समानान्तर कार्यक्रम, जिल्लाभन्दा बाहिर पुगेर जलवायु परिवर्तन तथा जैविक विविधता सम्बन्धी सचेतनालगायत कार्यक्रमहरु सञ्चालन गरिएको छ । पछिल्लोपटक आईडी नेपालसँगको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एफएचएन–आईएल कार्यक्रम कार्यान्वयनको चरणमा रहेको मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले म्याग्दी जिल्लामा मिलन संस्थाले स्वास्थ्य, पोषण तथा झोलुङ्गे पुल निर्माणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले एनजिओ तथा आईएनजिओले जिल्लामा कार्यक्रम सञ्चालन गर्दैगर्दा सरोकारवाला निकाय सबैसँग समन्वय गर्नुपर्ने बताउँदै राज्य पुग्न नसकेका ठाउँहरुमा सामाजिक संघसंस्थाहरु पुगेर सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारमार्फत आफूले समग्र जिल्लाको विकास निर्माणलगायत क्षेत्रको विकासमा आवश्यक पहल गरिरहेको बताउँदै प्रदेश सभा सदस्य गौचनले सामाजिक संघसंस्था र स्थानीय सरकारको बीचमा समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

सोही कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले मिलन म्याग्दीमार्फत समुदायस्तरमा सञ्चालित कार्यक्रमहरुलाई एकपटक फर्केर हेनुपर्ने बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मिलन म्याग्दीले जिल्लामा झोलुङ्गे पुलको निर्माण तथा सामाजिक सचेतनालगायत क्षेत्रमा खेलेको भूमिका अतुलनीय रहेको भन्दै पछिल्लो समय ग्रामीण क्षेत्रबाट बसाइँसराइ बढेकाले यसलाई रोक्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछाने र धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले एनजिओ तथा आईएनजिओमार्फत सञ्चालन हुने कार्यक्रमहरुमा डुब्लिकेसन हुन नहुनेमा जोड दिनुभयो । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सामाजिक संघसंस्थाको कार्यक्रममा जिल्लास्थित सबै सरकारी कार्यालयहरुलाई अनिवार्य रुपमा बोलाउनुपर्ने बताउँदै राष्ट्रसेवक कर्मचारी र सरकारी कार्यालयबाट कुनै पनि खालको कमीकमजोरी भए औंल्याइदिन सुझाव दिनुभयो ।

कार्यक्रममा मिलन म्याग्दीका पूर्व अध्यक्ष शिव बानियाँ र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा, म्याग्दीका अध्यक्ष दिपक पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुको अध्यक्षता, उपाध्यक्ष तिलकुमारी रानाको स्वागत र सचिव ज्ञानु बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply