जन्मदिन मनाउने सबैका आ–आफ्नै शैली हुन्छन् । जन्मदिन मनाउने व्यक्तिले आफ्नो जन्मोत्सवको अवसर भन्दै साभीभाइलाई भव्य पार्टी समेत दिने गरेका छन् । जन्मदिनमा अत्यधिक मात्रामा खर्च पनि गर्ने गरिन्छ । तर पछिल्लो समय जन्मदिन मनाउने शैलीमा भने केही फरकपन देखिन थालेको छ ।

जन्मदिनको अवसर पारेर मानिसहरुले सामाजिक क्षेत्रमा लगानी गर्ने, गरिब, दिनदुःखी तथा बिरामीलाई आर्थिक सहयोग गर्ने, शैक्षिक संस्थालाई पुस्तक उपहार दिने, जेहेन्दार विद्यार्थीलाई सघाउने, सामाजिक संघसंस्थामा अक्षयकोषको घोषणा गरी रकम जम्मा गर्ने जस्ता कार्यहरु गर्दै आएका छन् । यसैक्रममा म्याग्दीका एकजना युवा व्यवसायीबाट आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक क्षेत्रमा आर्थिक सहयोग भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेका नारायण जिसीले आफ्नो जन्मदिनको अवसर पारेर मङ्गलवार जिल्ला कारागार कार्यालय म्याग्दीमा रहेका कैदीबन्दीहरुलाई आर्थिक सहयोग गर्नुभएको हो ।

उहाँले नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ–दिपावली र छठपर्व तथा नेपाल सम्वत् ११४५ को अवसरमा कारागार कार्यालयमा बन्दी जीवन बिताइरहेका उनीहरुलाई नगद २५ हजार रुपैयाँ दिनुभएको छ । उक्त रकम बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँमार्फत कारागारका कैदीबन्दीलाई हस्तान्तरण गरिएको थियो ।

यसैगरी जिसीले बेनपा–६, निवासी क्यान्सरपीडित चन्द्रकुमारी खत्रीलाई समेत नगद १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। नेकपा एमाले बेनी नगरपालिका कमिटीको समेत निवर्तमान अध्यक्ष रहनुभएका जिसीले हाल पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य एवं युवा फाँट इन्चार्जको जिम्मेवारी सम्हाल्नुभएको छ ।

गंगा जिसी फाउण्डेशन म्याग्दीको संस्थापक अध्यक्ष जिसीले जिल्लामा दिनदुःखी, गरिब तथा विपन्न वर्गलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । जिसी गएको भदौमा सम्पन्न एमालेनिकट उद्योगी, व्यवसायीहरुको संस्था नेपाल निर्माण उद्योग परिषदको अधिवेशनबाट गण्डकी प्रदेशको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

जिसी म्याग्दी उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिको महासचिव हुनुहुन्छ । प्रत्येक वर्ष जन्मदिनमा आर्थिक सहयोग गर्दै आउनुभएका युवा व्यवसायी जिसीले आगामी दिनमा पनि सहयोगको कार्यलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

Leave a Reply